नेपालगञ्ज, ४ भदौ । नेपालगञ्जमा आज करेण्ट लागेर बाबुछोराको मृत्यु भएको छ । नेपालगञ्ज वडा नं. १७ का अन्दाजी ४० वर्षीय बाबु परसुराम कलवार र २५ वर्षीय छोरा बब्लु कलवारको करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
छोरा बब्लुलाई अटोरिक्सा चार्ज गर्ने क्रममा करेण्ट लागेपछि बचाउन खोज्दा बाबु परसुरामलाई पनि करेण्ट लागेर दुवैको मृत्यु भएको जनाइएको छ । करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरूलाई नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा बाबुछोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।
यसैगरी, बाँकेको जानकी गाउँपालिकाको वडा नं. ५ छब्बनपूर्वा निवासी ७ वर्षीय बालक सञ्जु करवलको आज बिहान खाल्डोमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता घर्तीमगरका अनुसार, अम्बे स्टिल उद्योगले पर्खाल निर्माणका लागि खनेको करिब १० फिट गहिरो खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको हो । घटनाका दोषीलाई कारबाही, पीडित परिवारलाई क्षतिपुर्ति दिनुपर्ने मागसहित स्थानीय बासिन्दा बिरोधमा उत्रिएका छन् ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.