नेपालगञ्ज, ३ भदौ । बर्दियाको गुलरिया नगरपालिकामा संचालित प्लान नेपाल परियोजनाको समन्वय बैठक सम्पन्न भएको छ । प्लान नेपालका साझेदार संस्था बाँके युनेस्को क्लब, बी—ग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको समन्वयमा बैठक बसेको हो ।
बैठकमा बर्दियाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको पनि सहभागिता थियो । गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवको अध्यक्षतामा भएको बैठकमा स्थानीय तहका जनप्रतिनिधिलाई परियोजना बारे जानकारी गराई नतिजामुखी कार्यक्रम संचालनमा आपसमा समन्वय र सहकार्य गर्न बैठक आयोजना गरिएको जनाइएको छ ।
बैठकमा प्लान परियोजनाका साझेदार संस्थाहरुको गत आर्थिक वर्ष २०७८÷७९ को प्रगति, सिकाई उपलव्धि र आगामी कार्यक्रम तथा बजेटका विषयमा छलफल भएको प्लानका कार्यक्रम संयोजक गोमा वली चौधरीले जानकारी दिनुभयो ।
बैठकमा गुलेरिया नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा, प्लान नेपालका कार्यक्रम विशेषज्ञ वेदप्रसाद डाँगी, वित्तिय संयोजक पदम मल्ल र झलक विश्वकर्माको पनि सहभागिता थियो । बैठक समापन अवसरमा मेयर यादवले स्थानीय सरकार र सामाजिक संघसंस्थाको समन्वय र सहकार्य नगरपालिकाका लागि अपरिहार्य भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका सहनिर्देशक महेश नेपालीले गर्नुभएको थियो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.