नेपालगञ्ज, २ भदौ । बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ र ५ का कृषक समूहलाई पानी तान्ने समरसेवल ट्युबवेल उपलव्ध गराइएको छ । कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले ट्युबवेल उपलव्ध गराएको हो ।
कतार च्यारिटीको साझेदारीमा क्लबले बाँकेका केहि स्थानमा साना सिँचाइ सहयोग परियोजना कार्यक्रम संचालन गर्दै आएको छ ।
सोही परियोजना अन्तर्गत उक्त वडाका ६ विपन्न कृषक समूहलाई सिंचाईका लागि ट्युबवेल उपलव्ध गराएको कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इर्शादअलि शेषले जानकारी दिनुभयो । निर्देशक शेषका अनुसार, कृषि उत्पादकत्वमा वृद्धि गरी खाद्य सुरक्षा र गरिबी निवारण सुनिश्चित गर्ने उद्देश्यले ट्युबवेल उपलव्ध गराइएको हो । उक्त ट्युबवेल आज आयोजित एक अनौपचारिक कार्यक्रमका बीच कृषक समूहका अध्यक्षद्धय कौशिला चन्द मल्ल र कमला न्यौपानेलाई हस्तान्तरण गरिएको छ ।
स्थानीय जनप्रतिनिधि र कृषकलगायत सहभागि भएको कार्यक्रममा जडान समेत गरिएको ट्युबवेल संचालनको शुभारम्भ गर्दै खजुरा गाउँपािलका अध्यक्ष डम्बर विक तूफानले कृषक समूहका लागि गरिएको सहयोग निकै सराहनीय रहेको छ भन्नुभयो । त्यस अवसरमा क्लबका प्रमुख संरक्षक परवेजअलि सिद्दिकी, अध्यक्ष रबी तुलाधर, कोषाध्यक्ष फिरदौसजँहा खान, कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, सल्लाहकार सिराज खान र कार्यक्रम अधिकृत अनुप वर्माको उपस्थिति रहेको थियो ।