नेपालगञ्ज, ३१ साउन । नेपालगञ्जका मेयर प्रशान्त विष्ट र बाँके क्षेत्र नं. २ वाट सांसदमा विजेता भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइबीच नेपालगन्जका विकास योजना संचालनका सम्बन्धमा सहकार्य गरिएको छ । सहकार्य बमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालगञ्जको गणेशमान चोक, धम्बोझी चोक, कारकादौंमा आकाशे पुल निर्माणका लागि टेण्डर आव्हान गरेको छ । कोहलपुरको त्रिभुवन माध्यामिक विद्यालय अगाडी सहित ५ स्थानमा १५ महिनाभित्र काम सम्पन्न गर्ने गरि मन्त्रालयले टेण्डर आव्हान गरेको हो ।
यसैगरी, नगरको जमुनाहदेखि राँझा चोकसम्मको झण्डै ११ किलोमिटर सडक स्तरोन्नती गरि असफाल्ट कालोपत्रे निर्माणका लागि मन्त्रालयले टेण्डर आव्हान गरेको छ । सोही सडक खण्डको आसपासमा ट्राफिक तथा स्ट्रिट लाईट जडानका लागि समेत मन्त्रालयले टेण्डर आव्हान गरेको छ । मेयर विष्टले उपमहानगरपालिकाको अनुरोध, आग्रह र समन्वयमा विभिन्न वडाहरुमा १५ किलोमिटर सडक तथा नाल निर्माण र अन्य सडक सुधार तथा स्तरोन्नतिका लागि टेण्डर आव्हान भएको बताउनुभयो ।
मेयर विष्टले नेपालगन्ज उपमहानगरपालिकासँगको समन्वय र सहकार्यमा मन्त्रालयले योजना कार्यान्वयन अघि बढाएको जानकारी दिनुभयो । विष्टले नेपालगञ्जको विकासका लागि प्रधानमन्त्री शेरवहादुर देउवा सहित अन्य मन्त्रीहरु समक्ष समेत माग प्रस्तुत गरेको बताउनुभयो ।