नेपालगञ्ज, ३१ साउन । बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ४ मा रहेको अरविया गुल्सने वारिस मदरसाका प्रधानाध्यापक अव्दुल रहमान खान अहिले खुशी हुनुहुन्छ । नरैनापुर गाउँपालिकाले उक्त विद्यालयमा दिवा खाजा कार्यक्रम संचालन गरेपछि प्रधानाध्यापक खाँ खुशी हुनुभएको हो । ‘अत्यन्तै न्यून विद्यार्थी रहेको हाम्रो मदरसामा दिवा खाजा कार्यक्रमले चमत्कार नै गरेको छ’—प्रधानाध्यापक खाँको भनाई छ । उहाँको विद्यालयमा अहिले ३०७ बालबालिका अध्ययनरत छन् । नरैनापुर गाउँपालिकाले अरविया गुल्सने वारिस मदरसा मात्र नभई गाउँपालिका क्षेत्रमा रहेका सबै विद्यालयमा दिवा खाजा कार्यक्रम संचालनमा ल्याएको हो ।
विद्यार्थीलाई नियमित गर्ने उद्देश्यले दिवा खाजा कार्यक्रम लागु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार, यो कार्यक्रमले विद्यालयमा उपस्थित हुने विद्यार्थी संख्यामा अप्रत्याशित वृद्धि भएको छ । ‘शिक्षामा सबैको पहँुच’ को अवधारणा अन्तर्गत नरैनापुर गाउँपालिकाले बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम संचालनमा ल्याएको हो । ‘विद्यालयमा विद्यार्थीको उपस्थिति क्रमशः न्युन हुँदै गएपछि यो कार्यक्रम लागु गरिएको हो’—प्रमुख प्रशासकिय अधिकृत बस्नेतले भन्नुभयो । पछिल्लो तथ्यांक अनुसार, नरैनापुरमा विद्यालय बाहिर रहेका विद्यालय जाने उमेरका करिब ४० प्रतिशत विद्यार्थीहरूमध्ये दिवा खाजा सञ्चालन भएपछि ३५ प्रतिशत जति विद्यालयमा भर्ना भई नियमित विद्यालय आउने गरेका छन् ।
नरैनापुर गाउँपालिकाले ४७ सामुदायिक विद्यालय तथा मदरसा ३ वटा बालविकास केन्द्रमा दिवा खाजा कार्यक्रम संचालन गरेको गाँउपालिका अध्यक्ष इश्तियाकअहमद शाहले जानकारी दिनुभयो । शाहका अनुसार, शिक्षाको विकास योजना तथा कार्यक्रम गाउँपालिकाको मुख्य प्राथमिकतामा रहेको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.