राष्ट्रिय धान दिवस आज बाँकेलगायत देशैभर मनाइएको छ । ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ १९ औं राष्ट्रिय धान दिवस आज बाँकेलगायत देशैभर मनाइएको छ । दिवसका अवसरमा देशैभर धान रोपाई गरिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार, बाँकेमा अहिलेसम्म ३ प्रतिशत धान रोपाइँ भएको छ । ब्याड तयारी अवस्थामा भए पनि ढिलो भएको बर्षात कारण किसानहरुले रोपाइँ गर्न पाएका थिएनन् । गएरातिदेखि बाँकेमा वर्षा भइरहेकाले अब बाँकेमा धमाधम रोपाई हुने विश्वास गरिएको छ । तथापी, बाँकेका किसानहरुले भने अहिलेसम्म सहज तरीकाले मल पाउन सकेका छैनन् । दुई दिनअघि जिल्ला प्रशासन कार्यालय बाँकेले वास्तविक किसानले सीमापारी भारतीय बजारवाट मल ल्याउन सहजीकरण गर्ने जनाएको छ । बाँकेमा स्थानीय र हाइब्रेड जातका धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले बताउनु भयो । बाँकेमा यस वर्ष करिब ३५ हजार हेक्टरमा धान खेती हुने जनाइएको छ । नेपालमा विक्रम सम्वत २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो । आज बाँकेको राप्तीसोनारी गाउँपालिका–३ मा पनि कृषि ज्ञान केन्द्रले रोपाइँ महोत्सव आयोजना गरेको छ । अर्कोतर्पm, असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिने गरिएको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.