नेपालगञ्ज, १५ फागुन । बाँकेको डुडुवा गाउँपालिका क्रमिकरुपमा विकासपथमा अघि बढ्दै गएको छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवाहरुमा स्थानीयको पहुँच बढाउन यो पालिका अहिले सक्षम हुँदै गएको छ । ‘जनप्रतिनिधिको दृढ अठोट शक्ति र स्थानीयको सहयोग र समन्वयवाट हामी विस्तारै प्रगतिपथमा लम्कदै गएका छौ’-पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको भनाई छ ।
यो पालिकामा अहिले सामाजिक विकासका लागि स्थानीयको सोच र मनोविज्ञानमा उल्लेख्य परिवर्तत भएको छ ।
मुलुक संघीय शासन प्रणालीमा गएपछि गठन भएको पहिलो पालिका सरकारदेखि नै डुडुवा बाँकेका अन्य पालिकाभन्दा अव्बल सावित हुँदै आएको छ । मधेशी समुदायको बाहुल्यता रहेको डुडुवामा छोरीलाई पढाउन अभिभावकहरु तयार हुनुलाई शिक्षा विकासको महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । त्यस्तै बालबालिका तन्नेरी अर्थात २० वर्ष पुगेपछि विवाह गर्ने, बालिकालाई पूर्णखोप लगाउने, पाँच वर्ष पुगेका नानीबाबुलाई विद्यालय भर्ना गर्ने, कम्तीमा एसईई अध्ययन गराउनेलगायतका मूलतः बालिका केन्द्रीत योजनामा अभिभावकहरु मनैदेखि राजी भएका छन् । यस्तो अवस्था आउनुमा शिक्षा सुधार रणनीति योजना कार्यान्वयनमा आउनु नै हो । गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णका अनुसार, यस वर्ष शिक्षाको गुणस्तरीयता वृद्धिसंगै सुधार रणनीतिक योजना कार्यान्वयनमा ल्याइएको हो । तथ्यांक अनुसार, डुडुवामा माध्यमिक विद्यालय सात, आधारभुत विद्यालय नौ, मदरसा १८, गुरुकुल एक र ७५ बालविकास केन्द्र रहेका छन ।
अर्कोतर्प, पालिकाले मूलधारको शिक्षामा अभिभावक चेतना अभिवृद्धि गर्नुका साथै उनीहरुको आर्थिक अवस्थामा सहजता ल्याउन गरिब तथा जेहेन्दार छात्रछात्राका लागि छात्रवृति वितरण तथा निशुल्क पाठ्यपुस्तक उपलव्ध गराउदै आएको अध्यक्ष चौधरी बताउनुहुन्छ ।
शिक्षाका लोभलाग्दा अन्य योजनाका साथै पालिकाले भौतिक पूर्वाधारमा पनि जोड दिएको छ । तथ्यांक अनुसार, पछिल्ला वर्षमा पालिकाले सडकको स्तरोन्नतीका साथै सिचाई, ढल निकासको योजनामा निकै ठूलो फड्को मारेको छ । पालिकाभित्र अहिले सबै वडा तथा वस्ती जोड्ने सडक निर्माण भएका छन् भने केहि निर्माणाधिन अवस्थामा रहेका छन् ।
यसैगरी, स्वच्छ खानेपानी, राप्ती नदीको बाढी रोकथाम, धार्मिक मठमन्दिर तथा मस्जिदको मर्मत, सम्भार, पर्यापर्यटनको विकास, रोजगारीलगायतका भौतिक पूर्वाधार विकासमा समेत डुडुवा गाउँपालिकाले तारिफयोग्य काम गरेको देखिन्छ । यस्तै कृषि, सूचना तथा संञ्चार, स्वास्थ्य, सुशासन, न्याय सम्पादन, जेष्ठ नागरिकको वृत्तिविकास लगायतका विषयमा पनि यो पालिकाले दहे पाइला चाल्दै आएको छ । पालिकाका उपरोक्त प्रगतिमा केन्द्रीय सरकारले समेत ‘ठप्पा’ लगाइसकेको छ । केन्द्रीय सरकारको मूल्यांकनमा डुडुवा गाउँपालिकाले उत्कृष्टताको प्रमाणपत्र पाइसकेको छ ।
पालिकाको पछिल्लो प्रगति विवरण अनुसार, घर–घरमा स्वास्थ्य कार्यक्रम, बर्थिंङ्ग सेन्टर सेवा, सबै वडा कार्यालय, स्वास्थ्यचौकी र माध्यमिक विद्यालयमा इन्टरनेट सहित इन्टरकम र सीसी क्यामरा जडान तथा डिजिटल प्रणालीमार्फत कार्य सम्पादन, कृषकहरुलाई किट तथा ढुसीनाशक बिषादी निःशुल्क वितरण र कृषि विकास शाखामा ११ व्यवसायिक कृषकको समूह दर्ता गरिएका छन् । यस्तै, गाउँपालिकाबाट संचालित बहुबार्षिय आयोजना अन्तर्गत डुडुवा–६ मा निर्माणधिन शीत भण्डारको भौतिक प्रगति ५५ प्रतिशत भएको, घर–घर पशु स्वास्थ्य कार्यक्रम, गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट गाई-भैसीमा उन्नत जातको कृत्रिम गर्भाधान कार्यक्रमलाई प्रगति विवरणमा समेटिएको अध्यक्ष चौधरीले बताउनुभयो ।