नेपालगञ्ज, १५ असार । बाढी र डुबानको उच्च जोखिममा रहेका बाँके र बर्दियाका तीन पालिकालाई बाँके युनेस्को क्लबले उद्धार सामग्रंी उपलव्ध गराएको छ । क्लबले बाँकेको खजुरा गाउँपालिका तथा बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकालाई विपद व्यवस्थापन सम्बन्धि १५ लाख मूल्य बराबरको उद्धार सामग्री उपलव्ध गराएको हो । ती दुवै जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रसंगको समन्वयमा कोभिड १९ रेस्पोन्स र रिकभरी परियोजना अन्तर्गत प्लान नेपालको सहयोगमा प्रत्येक पालिकालाई ५÷५ लाख बराबरको उद्धार सामग्री उपलव्ध गराइएको क्लबका संरक्षक प्रवेजअलि सिद्धिकीले जानकारी दिनुभयो । परियोजना अन्तर्गत खजुरा गाउँपालिकाको ५ विद्यालयमा इन्सिनेटर निर्माण, वडा नम्बर ३, ४, ५ र ६ मा १६० मिटर लम्बाई र ३ मिटर चौडाईको बाटो मर्मत र ग्राभेल, खजुरा र बारबर्दियाका विद्यालयमा डेस्कटप कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर प्रदान, रिमिडियल कक्षा सञ्चालन र ईसिडी लगायतका सामग्री रहेका छन् । उक्त सामग्री खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तूफान, बारबर्दिया नगरपालिकाका मेयर छविलाल चौधरी र राजापुर नगरपालिकाका मेयर दिपेश थारुलाई पालिकालाई हस्तान्तरण गरिएको छ ।