नेपालगञ्ज । नेपाली कथानक चलचित्र ‘मालती मंगले’ को टिमले नेपालगञ्जमा पत्रकारहरुसंग साक्षात्कार गरेको छ । चलचित्र पत्रकार संघ बाँकेको आयोजनामा सम्पन्न साक्षात्कार कार्यक्रममा कलाकार तथा निर्माण टिमले चलचित्रबारे जानकारी गराएका हुन् ।
कार्यक्रममा सहभागी निर्माता एवम् कलाकारहरूले ‘मालती मंगले’ प्रेमकथा र सामाजिक यथार्थलाई समेटेर निर्माण गरिएको बताएका छन् । उनीहरूले दर्शकलाई नयाँ स्वादको कथा र प्रस्तुति दिन प्रयास गरिएको उल्लेख गर्दै चलचित्रप्रति सकारात्मक प्रतिक्रिया आउने अपेक्षा व्यक्त गरे । नेपाली सुगम संगीतका सदाबहार गायक रामकृष्ण ढकालले निर्माण गरेको चलचित्रमा विजय बराल, बर्षा राउत, मेक्सम गौडेलको मुख्य भूमिका छ । साक्षात्कारमा विजय भने उपस्थित थिएनन् । कार्यक्रममा गायिक ऋतिका श्रेष्ठ पनि उपस्थित थिइन् ।
यो फिल्मले गाउँले परिवेशको मर्मस्पर्शी प्रेमकथालाई चित्रण गरेको ढकालले बताए । कलाकारद्वय राउत र गौडेलले आफूहरुले चलचित्रमा आफ्नो भूमिकालाई सही तरिकाले निभाउन शतप्रतिशत पर्यत्न गरेको बताए । त्यसक्रममा ढकाल र श्रेष्ठले ‘ढुङ्गा माथि लेऊ’ बोलको गीत गाएर पनि सुनाएका थिए । राउत र गौडेलले संवादको सानो अंश सुनाएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी र चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले चलचित्रको सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम संघकी सचिव लक्ष्मी तिमिल्सिनाले सञ्चालन गरेकी थिइन् ।
टिमले आगामी प्रदर्शन मिति नजिकिँदै जाँदा देशका विभिन्न शहरमा प्रचार अभियानलाई तीव्र बनाइएको जानकारी दिएको छ । चलचित्र ‘मालती मंगले’ यही वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ । प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस फिल्मलाई रानी फिल्म्सको ब्यानरमा युनी इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो । फिल्मको कथा स्वयं निर्देशक पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाइँको छ ।






