राजापुर(बर्दिया), १५ असोज । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्धि सुधारका लागि विभिन्न सरोकारवालाबीच बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
राजापुर नगरपालिका, राधाकृष्ण थारू जनसेवा केन्द्र, बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि सुरक्षित भविष्य परियोजना, साथै सोनाहा विकास समाज र गुड नेबर्स इन्टरनेशनलको संयुक्त साझेदारीमा कार्यक्रम आयोजना गरिएको हो।
राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, बडघर, विकास साझेदार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, गुड नेबर्स इन्टरनेशनलकी विष्णुकुमारी बराल तथा सोनाहा विकास समाजकी कार्यक्रम संयोजक रत्न केसीलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, सुरक्षित भविष्य परियोजनाका कार्यक्रम संयोजक मनोज पौडेल तथा फिल्ड सुपरभाइजरहरू रेणुका चन्द, दीक्षा बिष्ट, प्रमिशा चौधरी र सञ्जिता रिजाललगायत परियोजनाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण टीकानाथ गोसाईले गर्नुभएको थियो।
अन्तरक्रियाका क्रममा राजापुर नगरपालिकाको विगतदेखि वर्तमानसम्मको शैक्षिक अवस्थाको समीक्षा तथा विश्लेषण गर्दै शैक्षिक सुधारका लागि भएका प्रयास, प्राप्त उपलब्धि, विद्यमान चुनौती तथा आगामी सुधारका सम्भावित क्षेत्रहरूबारे विस्तृत छलफल गरिएको थियो। विशेषगरी बालबालिकाको सिकाइ उपलब्धिमा अपेक्षित सुधार ल्याउन आवश्यक पहल, विद्यालयको शैक्षिक वातावरण, शिक्षक तथा विद्यालय प्रशासनको प्रभावकारिता, अभिभावकको सहभागिता तथा समुदायको भूमिकालाई थप सुदृढ बनाउने विषयमा सहभागीहरूले आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।
छलफलका क्रममा बालविवाह, प्रविधिको अस्वस्थ प्रयोग, कुलत तथा दुर्व्यसन, विद्यालय तथा समुदायस्तरमा देखिने विभिन्न चुनौतीहरूले बालबालिकाको शिक्षा, संरक्षण र समग्र विकासमा पार्न सक्ने प्रभावबारे समेत गम्भीर छलफल भएको थियो। यस्ता चुनौतीहरूको न्यूनीकरणका लागि विद्यालयमा बालमैत्री र सुरक्षित सिकाइ वातावरण निर्माण, शिक्षक तथा विद्यालय प्रशासनको जवाफदेहिता अभिवृद्धि, अभिभावकको सक्रिय सहभागिता, समुदायको स्वामित्व तथा बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्दै सामूहिक रूपमा अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा नगर उपप्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा तथा राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले शैक्षिक गुणस्तर सुधारका लागि आफ्ना विचार, अनुभव, राय तथा सुझाव प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले राजापुर नगरपालिकाको समग्र शैक्षिक विकासका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक, समुदाय, संघसंस्था तथा विकास साझेदारहरूबीच प्रभावकारी समन्वय, सहकार्य र साझा जवाफदेहिता आवश्यक रहेको उल्लेख गर्दै शैक्षिक सुधारका प्रयासहरूलाई योजनाबद्ध, सहभागितामूलक तथा परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको थियो।
अन्तरक्रियाका क्रममा सहभागीहरूबाट राजापुर नगरपालिकाको शैक्षिक अवस्था सुधारका लागि विभिन्न व्यावहारिक सुझाव तथा राय संकलन गरिएको थियो। नियमित पठनपाठन, सिकाइ उपलब्धि अभिवृद्धि, विद्यालय व्यवस्थापनको प्रभावकारिता, शिक्षकको उत्तरदायित्व, बालमैत्री शैक्षिक वातावरण निर्माण तथा विद्यालय र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सहभागीहरूले महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए। संकलित सुझावहरूलाई आगामी दिनमा शैक्षिक सुधारसम्बन्धी योजना निर्माण तथा कार्यान्वयनमा उपयोग गर्ने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रमले राजापुर नगरपालिकाको शैक्षिक अवस्थाको समीक्षा गर्दै विद्यमान चुनौतीहरूको पहिचान, सुधारका सम्भावित उपायहरूको खोजी तथा आगामी कार्यदिशा निर्माणका लागि सरोकारवालाहरूबीच साझा समझदारी र प्रतिबद्धता विकास गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको विश्वास गरिएको छ।
साथै, शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्धि सुधारका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक, समुदाय तथा विकास साझेदारहरूबीचको समन्वय, सहकार्य र साझा जिम्मेवारीलाई थप सुदृढ बनाउँदै ठोस परिणामतर्फ अघि बढ्ने वातावरण समेत निर्माण भएको बताइएको छ।






