नेपालगन्ज फागुन ८ । आगामी निर्वाचन नजिकिँदै जाँदा गाउँदेखि सहरसम्म राजनीतिक बहस चर्किएको छ । चिया पसल, चौतारा र सामाजिक सञ्जालमा एउटै चर्चा सुनिन्छ–“यसपटक बदलिएको काँग्रेसलाई अवसर दिनुपर्छ ।”
धेरै मतदाताको बुझाइमा लामो इतिहास बोकेको नेपाली काँग्रेस अहिले आन्तरिक सुधार, नयाँ अनुहार र स्पष्ट नीतिगत प्रतिबद्धतासहित अघि बढेको छ । बाँके क्षेत्र नं.२ का काँग्रेस उम्मेदवार सुधान्शु कोइराला घरदैलोमा पुग्दा पनि मतदाता उत्साहित थिए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ गणेशपुरमा वडा कार्यसमितिले आयोजना गरेको घरदैलोमा पुग्दा स्थानीय रिनु सेरचनले पार्टीभित्रको संरचनात्मक सुधार र महाधिवेशनपछिको नेतृत्व चयनले यो पटक काँग्रेसलाई मत दिने बताइन् ।
काँग्रेसले समावेशी प्रतिनिधित्व र सामाजिक न्यायका मुद्दालाई प्राथमिकतामा राखेकाले पनि आफुहरु उत्साहित भएको उनको भनाइ छ । “बदलिएको काँग्रेस” भन्ने नाराले जनमानसमा सकारात्मक प्रभाव पार्न थालेको देखिन्छ ।

अर्का मतदाता विजय साहुले पनि बदलिएको काँग्रेसप्रति भरोसा जागेको बताए । नेपाली काँग्रेस बाँकेका सचिव समेत रहेका उम्मेदवार कोइरालाले शुक्रबार नेपालगन्को बजार क्षेत्रमा समेत घरदैलो गरेका छन् ।
त्यसक्रममा उनले ब्यापारीहरुको समस्या सुने । सहज बजार व्यवसायका लागि नीतिगत रुपमा सहजीकरणको भूमिका निर्वाह गर्ने विश्वास दिलाए । कोइरालाले नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ गणेशपुर, वडा नं.१८ भुजइँगाउँमा घरदैलो गरेका छन्
।








