नेपालगञ्ज, १७ माघ । बाँके जिल्लाको तिनै वटा क्षेत्रमा चुनाव जित्ने काँग्रेसले दावी गरेको छ । नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले बाँके क्षेत्र नं. १ मा पार्टी जिल्ला सभापति नारायण गौडेल, क्षेत्र नं. २ का जिल्ला सचिव सुधाँशु कोइराला र क्षेत्र नं. ३ मा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई उम्मेदवार बनाएको छ ।
काँग्रेसको चुनाव जित्ने दावीसंगै नेपाली कांग्रेसका उम्मेदवारहरूले बाँकेको विकास, लोकतन्त्रको रक्षा र सामाजिक मूल्य–मान्यताको संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । नेपाली कांग्रेस बाँकेका सभापति तथा क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेलले पार्टीको विशेष महाधिवेशनपछि कांग्रेसप्रति जनताको विश्वास अझै बलियो बन्दै गएकाले आफुले चुनाव जित्ने दावी गर्नुभयो ।
त्यस्तै क्षेत्र नम्बर ३ का उम्मेदवार अमरसिंह पुनले आप्नो क्षेत्रको विकास निर्माणका कामलाई उच्च प्राथमिकतामा राख्दै ठूला र सम्भावनायुक्त योजनाहरूलाई समयमै टुंगोमा पुर्याउनुपर्ने बताउनुभएको छ ।
बाँके क्षेत्र नं. २ का उम्मेदवार सुधान्सु कोइरालाले किसानका पीडा, युवाको बेरोजगारी र सडक सुरक्षा , शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास जस्ता विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो ।








