नेपालगञ्ज, १८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपाली काँग्रेस, बाँकेको दुई नं. निर्वाचन क्षेत्रमा प्रचारप्रसार समितिको कार्यालय स्थापना गरिएको छ । नेपालगञ्जको त्रिभुवन चोकमा प्रचारप्रसार समितिको कार्यालय स्थापना गरिएको हो ।
उक्त कार्यालयको आज एक औपचारिक कार्यक्रमका बीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले उद्घाटन गर्नुभयो । नेपाली काँग्रेसले बाँके जिल्लाको दुई नं. निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका जिल्ला सचिव युवा नेता सुधाँशु कोइरालालाई उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेस, बाँके दुई नं. क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको अध्यक्षतामा भएको प्रचारप्रसार कार्यालय उद्घाटन समारोहमा केन्द्रीय सदस्य बाल्मिकी, उम्मेदवार कोइराला, पार्टीका जिल्ला कार्यवाहक सभापति गोपालप्रसाद अधिकारी, पूर्व सभापति कृष्णमान श्रेष्ठ, किरण कोइराला, युवा नेता सुदिपनरसिंह राणा, नेतृ उमा थापामगरलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा लोकतन्त्र प्राप्तिको आन्दोलनमा शहिदहरुप्रति एक मिनेट मौनधारण गरी श्रद्धासुमन व्यक्त गरिएको थियो ।








