कोहलपुर(बाँके) १२ पुस, । बाँकेको कोहलपुरमा संचालित कोहलपुर महोत्सव २०८२ मा आज शनिबार दर्शकको उल्लेख्य सहभागिता देखिएको छ । महोत्सवको चौथो दिनसम्म करिब २० हजारभन्दा बढी दर्शकहरुले महोत्सव अवलोकन गरिसकेको आयोजकको दावी छ ।
चर्चित कलाकारहरूको प्रस्तुति रहने भएपछि कोहलपुर मात्र नभई आसपासका गाउँ क्षेत्रवाट समेत दर्शकहरु आउने क्रम बढिरहेको जनाइएको छ । महोत्सवमा आज शनिवार चर्चित गायिका शान्तीश्री परियार र भूमिका गिरीसँगै चर्चित गायक कमल विसी माल्दाई, राज कुश्मीले सांगीतिक प्रस्तुति दिनुभएको थियो । महोत्सवमा नृत्यङ्गना तथा मोडल सुनिता दहितको पनि प्रस्तुती रहेको थियो ।
यही पुस ९ गतेदेखि सुरु भएको महोत्सवमा यस वर्ष नयाँ प्रयोगका रूपमा ‘जनपरी’ कार्यक्रम समावेश गरिएको छ । साथै, विभिन्न व्यावसायिक स्टल, बाल उद्यान, थारु गाउँ, कृषि प्रदर्शनी तथा विविध मनोरञ्जनात्मक गतिविधिहरूका कारण महोत्सव थप आकर्षणको केन्द्र बनेको छ ।
महोत्सवकै क्रममा शनिबारदेखि ‘टक शो’ कार्यक्रमको समेत औपचारिक सुरुवात गरिएको छ । पहिलो दिन “हाम्रो स्वास्थ्य, हाम्रो सरोकार” विषयमा आयोजित टक शोमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा. रेशमबहादुर राना तथा स्वास्थ्य मन्त्रालयका पूर्व अतिरिक्त सचिव डा. श्यामसुन्दर यादव वक्ताका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी प्रियास्मृति ढकालले गर्नुभएको थियो ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईका अनुसार महोत्सव अवधिभर हरेक दिन बिहान १० देखि ११ बजेसम्म विभिन्न समसामयिक विषयमा टक शो सञ्चालन गरिनेछ । टक शो कार्यक्रममा सहभागी हुन हरेक दिन बिहान १० बजेसम्म महोत्सव परिसरमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सवमा भोलि आइतवार चर्चित नायक पल शाह सहभागि हुने बताइएको छ । यसैगरी, आस्था रावत, रमेशराज भट्टराई र बबिता लम्साललगायतको प्रस्तुति रहने छ । यस्तै महोत्सवमा आइतवारदेखि विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिता पनि आयोजना हुने जनाइएको छ ।








