नेपालगञ्ज, २३ मंसिर । नेपालगञ्ज आज वाकाथन गरिएको छ । भ्रष्टाचार बिरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा वाकाथन गरिएको हो । पाँचौं संस्करणको वाकाथन बास नेपालको आयोजना र अन्तरालको सहकार्यमा भएको हो ।
नेपालगञ्जको गणेशमान चौकबाट शुरु भएको वाकाथन बजार परिक्रममापछि रामलिला मैदानमा पुगेर समापन गरिएको थियो । ‘भ्रष्टाचारबिरुद्ध सँगै हिँडौं’ भन्ने नाराका साथ गरिएको वाकाथनमा भ्रष्टाचार बिरुद्धका सन्देश प्रवाह गरिएका थिए । वाकाथनमा सरोकारवाला निकाय, नागरिक समाज, अधिकारकर्मीलगायत विद्यार्थी, शिक्षक, पत्रकार, प्रहरी, जनप्रतिनिधिहरुको सहभागिता थियो ।
वाकाथन समापन समारोहमा नेपाल सरकारका पूर्ब सचिव एवम् राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, राप्तीसोनारी गाउपालिकाका उपप्रमुख मनिषासिंह थारु, डा किशोर खत्री, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, जेनजी समूहका जीवन माझी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा खुला हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा बिजयी २० जना प्रतियोगिलाई पुरस्कार प्रदान गरिएको थियो ।








