नेपालगञ्ज, ११ मंसिर । नेपालगनञ्ज उपमहानगरपालिकाले सडकपेटी कब्जा गरी बनाइएका व्यपारिक तथा निजि संरचना हटाउन सुरु गरेको छ । शुरुवाती चरणमा वीपी चोकदेखि धम्बोझी चोकसम्मको अवैध संरचना हटाउन सुरु गरिएको नेपालगनञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
मेयर विष्ट उपस्थित भएर अतिक्रमित संरचना हटाउने कार्यको थालनी गर्नुभएको छ । पटक(पटक सूचना जारी गरेर सचेत गराउँदा समेत अवैध संरचना नहटाइएपछि डोजर लगाएर हटाउन थालिएको हो ।
मेयर विष्टले नगरको मुख्य सडक सुर्खेतरोडको पश्चिमतर्फ नालादेखि सात फिट फुटपाथ क्लियर गरी ग्रीनरी र अपांगमैत्री बनाउने योजना रहेको बताउनुभयो । त्यसका लागि ठेकेदार कम्पनीसंग ठेक्का सम्झौता समेत भइसकेको प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिनुभयो ।
मेयर विष्टले यसपछि क्रमशः धम्बोझी चोकदेखि पुष्पलाल चोकसम्म र गणेशमान चोकदेखि वीपी चोकसम्मको फुटपाथ क्षेत्र पनि क्लियर गरिने बताउनुभयो । नेपाल प्रहरी र नगर प्रहरीको उपस्थितिमा डोजर चलाइएको छ ।








