नेपालगञ्ज, ३० कात्तिक । बादी समुदायको समग्र विकासका कार्यक्रम संचालन गर्न मर्यादाका लागि महिला आवाज नामक संस्थाले बाँकेमा आप्नो काम शुरु गरेको छ । संस्थाले नेपालगञ्जमा कार्यालय स्थापना गरी कार्यक्रम अन्तर्गतका काम संचालन गरेको छ ।
आज नेपालगञ्जमा भएको एक कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले कार्य संचालनको शुभारम्भ गर्नुभयो । संस्थाको शुभारम्भसंगै आज नै बादी समुदायको अवस्था, समस्या, सम्भावना र सरोकारवालाको भूमिकाबारे आगामी कार्यदिशा बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
संस्थाका अध्यक्ष बसन्ती नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा बाँके जिल्लास्थित सरोकारवाला पदाधिकारीहरुको सहभागितामा भएको अन्तरक्रियामा जिल्ला समन्वय समिति बाँकेका प्रमुख चौधरीले बादी समुदायको विकासमा कार्य गर्ने उद्देश्यले काम थालेको संस्थालाई सफलताको शुभकामना दिनुभयो ।
त्यस अवसरमा नेपालगञ्ज उपमहानगरपालिका महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पबित्रा पुरी, जिल्ला प्रहरी कार्यालय महिला सेलका प्रहरी सहायक निरीक्षक चन्द्रिका खनाल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, गैरसरकारी संस्था महासंघ बाँकेका सहसचिब परिना चौधरी, फातिमा फाउण्डेसनका सुवेदा फरविन, फेडोका दिलिसा गौतमलगायतले बोल्नुभएको थियो ।








