नेपालगञ्ज । नेपालगञ्जमा कात्तिक १४ गते (आज)देखि दोस्रो राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप २०२५ आयोजना भइरहेको छ । नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा आज र भोलि गरी दुई दिनसम्म यो प्रतियोगिता हुनेछ । प्रतियोगितामा देशभरका करिब २०० खेलाडीले सहभागीता जनाएका छन् ।
यस प्रतियोगितामा विद्यालयस्तरका अन्डर ८, १०, १२, १४, १७ र खुला उमेर समूहका खेलाडीले सहभागी भएका छन् । प्रतियोगितामा अन्डर ८ समूहले २५ मिटर, अन्डर १० समूहले ५० मिटर, अन्डर १२ र १४ समूहले ५० तथा १०० मिटर, र खुला समूहले २०० र ४०० मिटर दुरीका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने क्लबले जनाएको छ।
क्लबका अध्यक्ष केशवराज न्यौपानेका अनुसार यस प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरू सहभागी भएको जनाएका छन् । उनले प्रतियोगितामा ५६ वटा इभेन्ट सञ्चालन हुने जानकारी दिए।

करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता नेपाल पौडी संघको वार्षिक क्यालेन्डरमा समावेश भएको पहिलो राष्ट्रिय संस्करण हो। तर, नेपालगञ्ज स्वीमिङ क्लबका लागि भने यो दोस्रो संस्करण हो । गत वर्ष क्लबले प्रदेशस्तरीय च्याम्पियनसिप आयोजना गरेको थियो। यस पटक राष्ट्रिय स्तरमा रूपान्तरण गर्न क्लबले प्रदेश सरकारसँग सहकार्यको पहल गरेको क्लबका सदस्य कृष्ण अधिकारीले जानकारी दिए।








