नेपालगञ्ज, १६ कात्तिक । करिब तीन हजार बालबालिकाको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको बाँकेमा औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउने कार्यक्रम रहेको छ । जस अन्तर्गत बाँकेको नेपालगञ्ज रंगशालामा २५ भन्दा बढी विद्यालयहरुको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको शुभारम्भ गरिएको हो ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ, नेपालगञ्जका मेयर प्रशान्त विष्ट र बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले संयुक्तरुपमा राष्ट्रिय खेलकुद परिषदका फुटबल प्रशिक्षक रबिन्द्र श्रेष्ठलाई फुटबल हस्तान्त्रण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभयो । समारोहमा सहभागि विद्यालयहरुको तर्फबाट प्रतिनिधिका रुपमा जुनियर आइनस्टाइन स्कुललाई फुटबल हस्तान्तरण गरिएको थियो ।
नेपालगञ्ज रंगशालामा भएको कार्यक्रममा बाँके जिल्लाका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको शुभारम्भसंगै रंगशालामा आठदेखि १२ वर्ष उमेर समुहका खेलाडीहरुको प्रशिक्षण र मैत्रीपूर्ण खेल अभ्यास गराइएको थियो ।
कार्यक्रममा एन्फा अध्यक्ष नेम्वाङले फुटबलको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्नका लागि फिफा फुटबल फर स्कुल कार्यक्रम महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामी निकै खुसी छौं । फिफाको अवधारणा अनुसार यो कार्यक्रम एक हजार भन्दा धेरै विद्यालयमा पुगिसकेको छ ।’
मेयर विष्टले बाँकेमा फुटबल संघले गरिरहेको गतिविधिबाट आफु निकै प्रभावित भएको बताउँदै आगामी दिनमा फुटबलको विकासमा उपमहानगरपालिकाले सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य शाहीले फिफा फुटबल फर स्कुल कार्यक्रमले बाँकेमा फुटबल संस्कृतिको विकास गर्न मद्दत पुगेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘फिफा फुटबल फर स्कुल कार्यक्रमको शुभारम्भलाई भव्य बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिनुभयो ।
फिmा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत बाँके जिल्ला फुटबल संघले चार महिना अघिदेखि नेपालगञ्ज रंगशालामा आठदेखि १२ वर्ष उमेर समुहका बालबालिकाहरुलाई हप्ताको दुई दिन निःशुल्क रुपमा प्रशिक्षण गराउँदै आएको संघका महासचिव कमल खत्रीले जानकारी दिनुभयो ।
रंगशालामा ३०० बालबालिकाहरुले बिहिबार र शुक्रबार प्रशिक्षण गरिरहेका छन् । जिल्लाका अन्य स्थानीय तहमा यो कार्यक्रम विस्तार गरेर बालबालिकालाई फुटबल प्रशिक्षण गराउने योजना रहेको खत्रीले बताउनु भयो ।
एन्फाका पुर्व उपाध्यक्ष गोवद्र्धन सिंह सम्झनाले स्वागत गरेको कार्यक्रममा एन्फाका उपाध्यक्ष दाबा लामा, केन्द्रीय सदस्य भरत बुढथापा, मनिष जोशी, मणी विष्ट, ग्रासरुट प्रमुख पंकज शाही, लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष अनिलराज भण्डारी लगायतको सहभागिता रहेको थियो ।








