नीरज गौतम/ नेपालगञ्ज, १९ भदौ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच पर्यटनसम्बन्धि अन्तरसम्बन्ध खोज्ने उद्देश्यले आज नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नाट्टा बाँकेको संयोजन र नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एशोसिएशन अफ टुर अफ ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले अन्तरक्रिया कार्यक्रम गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा नेपालगञ्जका व्यापारिक प्रतिष्ठानका, होटल व्यवसायी, पर्यटन व्यवसायी, पत्रकारलगायत सरोकारवाला अन्य निकायका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुले लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पर्यटकियस्थलको विकास र विस्तार, पूर्वाधार निर्माण, नयाँ पर्यटकियस्थलको अन्वेशण, अनुन्धानका साथै प्रचारप्रसारमा सरकार र सरोकारवाला निजि क्षेत्रको लगानी र समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।
त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले पर्यटन प्रबद्र्धनका लागि अन्तरप्रदेश समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । मन्त्री न्यौपानेले नेपालमा पर्यटकीय क्षेत्रहरुमा लगानी र यसको यथोचित प्रचारप्रसार गर्न नसक्दा लक्ष्य अनुरुप पर्यटकहरु भित्र्याउन सकिएको छैन भन्नुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले नेपालमा भारतीय पर्यटन प्रवद्र्धनका लागि आवागमनमा सहजता जरुरी रहेको बताउनुभयो ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख युवराज गुरुङ, नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजिव शाह, नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।








