नेपालगञ्ज, २६ भदौ । ‘जे-जी’ पुस्ताले गरेको आन्दोलनमा विकसित घटनाक्रमका सन्दर्भमा नेपाली काँग्रेस, बाँकेले आज एक महत्वपूर्ण प्रेस विज्ञप्ति प्रकाशित गरेको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा पछिल्लोपटक विकसित घटनाक्रमका कारण सिर्जित बिषम् परिस्थिति र ठूलो धनजनको क्षतीपछि नेपाली कांग्रेस बाँके स्तब्ध छ । ‘जेन-जी’ पुस्ताले गरेको आन्दोलनका क्रममा बाँकेमा पनि ठूलो मात्रामा सार्वजनिक तथा निजी सम्पत्ति, स्थानीय पालिकाहरु, सरकारी कार्यालय, पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीका हृदयविदारक घटनाले हामीलाई दुःखित तुल्याएको छ । अब यस्तो गल्ती कहि कतैवाट दोहोरिनु हुदैन, ।
बाँके पार्टी सभापति नारायणप्रसाद गौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको-‘शान्तिपूर्ण भनिएको आन्दोलनका क्रममा देशका धरोधर, नेपालको लोकतान्त्रिक आन्दोलनका नायकहरु स्वर्गीय विपी कोइराला, गणेशमान सिंह, पुप्पलाल श्रेष्ठका शालिक भत्काउनुलाई कदापी सही मान्न सकिदैन् ।’

‘शान्तिपूर्ण भनिएको जे-जीको आन्दोलनमा नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा लगायतका नेतामाथि भएको अमानवीय, क्रुर तथा सांघातिक आक्रमण तथा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु र सर्वसाधारण नागरिककाका निजि सम्पत्तिमा भएको आगजनीको समेत हामी घोर निन्दा र भत्र्सना गर्दछौ’, प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘जेन-जी’ पुस्ताले आन्दोलन थाल्दा गरेको उद्घघोष विपरित खर्बौको क्षती हुने गरी गरिएको तोडफोड र आगजनीले तपाईं-हामीलाई नराम्ररी गिज्याइरहेको छ । मुलुकलाई शिरमा राखी अघि बढ्नुपर्नेमा हुलहुज्जत गरी आफैंलाई नांगो बनाउने चरित्रले हामीलाई सधैं झस्काइरहनेछ । अब यस्तो परिस्थिति पुनः दोहोरिन हुँदैन भन्ने हाम्रो आग्रह छ । हाम्रो भद्र आग्रहलाई बेवास्ता गरियो भने त्यसको परिणाम सुखद नहुने चेतावीसमेत दिन चाहन्छौ ।
‘अर्कोतर्प, ‘जेन-जी’ पुस्ताले बोकेको एजेण्डा र भावना अनुकुल हुने गरी अब संविधानसम्मत लोकतान्त्रिक पद्दतीको बाटो तय गर्नुको अरु विकल्प छैन । यो विषम् परिस्थितिमा वार्ता र संवादमार्फत निकास निकाली फेरि मुलुक निर्माणको अभियानमा जुट्नुपर्ने बेला आएको छ । अहिलेको अवस्थाबाट माथि उठी पुनःनिर्माणको नवीन मार्ग तय गर्नका लागि संयम, संवाद र एकता अपरिहार्य छ ।त्यसका निम्ति नेपाली कांग्रेस, बाँके सम्बद्ध सबैसंग हार्दिक आह्वान गर्दछ । साथै, नेपाली काँग्रेसका सम्पूर्ण नेता कार्यकर्तालाई उच्च मनोबलका साथ अघि बढन आव्हान गर्दछौ’-विज्ञप्तिमा भनिएको छ ।
आन्दोलनका क्रममा काठमाडौंमा शहादत प्राप्त गर्ने बाँके नेपालगञ्जका दुई जना होनहार युवासहित सबै दिवंगत युवाहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ । यसैगरी, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि विज्ञप्तिमार्पत गरिएको छ ।








