नेपालगञ्ज, १५ साउन । हिन्दु धर्मावलम्बिहरुले आज साउन १५ गते मिठोमिठो परिकार सहितको खीर खाएर ‘खीर दिवस’ मनाएका छन् । प्रत्येक वर्षको साउन १५ गते खीर दिवस मनाउने गरिन्छ । वर्षा ऋतुका बेला असार १५ गते दही(च्युरा र साउन १५ मा खिर खाने हिन्दुधर्मावलम्बीहरुको प्राचीनकालदेखिको परम्परा रहेको छ ।
अरु समयमा प्रायः सबै धर्म सम्प्रदायका मानिसहरुले पनि खीर खाने गर्दछन् । तर, साउन १५ गते हिन्दुधर्मावलम्बीहरुले भने खीर खाने दिनलाई पर्वका रुपमा मनाउने गर्दछन् । दूधमा मरमसला लगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । यद्यपि, राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ फागुन १५ गतेको बैठकले साउन १५ लाई ‘खिर खाने दिन’ अर्थात् ‘खिर दिवस’ का रुपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने दुग्ध विकास बोर्डले जनाएको छ ।
साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैंसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन भनाई रहदै आएको छ ।
साउन भगवान् शिवको महिना पनि हो । शिवलाई दूध र दूधमा बनेका परिकार मन पर्ने भएकाले खिर लगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुन सक्ने जनविश्वास रहदै आएको छ ।








