नेपालगन्ज १२ साउन । “रक्तदान गरौ, सामाजिक उत्तरदायित्व पुरा गरौ” भन्ने मुल नाराका साथ दैलेखी समाज बाँकेले २० औ स्थापना दिवस तथा १९ औ बार्षिक उत्सवका अवसरमा आज नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ६५ जनाले रक्तदान गरेको जनाइएको छ । ६० औ रक्तदान दिवस समेत आजै परेको थियो । यो महत्वपुर्ण दिनका अवसरमा रक्तदान कार्यक्रम गर्न पाउदा दैलेखी समाज बाँकेका अध्यक्ष पुर्णदेव गिरीले खुशी ब्यक्त गर्नुभयो । उहाँले बिगतका दिनमा पनि समाजले यसरी रक्तदान गर्दे आएकोमा यसपटक पनि निरन्तरता दिनुलाई जिम्मेवारीका रुपमा लिएको बताउनुभयो । पछिल्नो समय रगत अभावको समस्या देखिएको अवस्थामा यो कामले केही राहत पुग्ने उहाँले विश्वास समेत ब्यक्त गर्नुभयो ।
प्रादेशिक रक्तसंचार केन्द्र बाँकेको नवनिर्मित भवनमा पहिलो पटक दैलेखी समाज बाँकेले रक्तदान गरेर सेवा सुभारम्भ गरेको प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो । उहाँले अन्य संस्थाहरुले पनि नियमित रुपमा नवनिर्मित भवनमा रक्तदान कार्यक्रम गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा समाज बाँकेका बरिष्ठ उपाध्यक्ष डिल बहादुर थापा ,सचिव गणेश बहादुर खड्का ,संस्थापक सदस्य हरी बहादुर बिष्ट , जनप्रतिनिधी ,नेपाल रेडक्रश सोसाइटी बाँकेका प्रतिनिधि ,विभिन्न संघ संस्थाका प्रतिनिधि ,समाजसेवी ,बुद्धिजिवी लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको दैलेखी समाज बाँकेका अध्यक्ष पुर्णदेव गिरीले जानकारी दिनुभयो ।








