नेपालागञ्ज, ६ साउन । निरंकुश राणा शासनविरुद्ध नेपालमा शुरु गरिएको क्रान्तिको अगुवाई गर्ने लोकतान्त्रिक आन्दोलनका नायक, नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विपी कोइरालाको ४३औ स्मृति दिवस आज बाँकेलगायत देशैरि विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस केन्द्रीय समिति तथा विभिन्न तहका पार्टी कार्यालयहरुले देशैभर वृक्षारोपणका साथै सभा समारोहको आयोजना गरी महामानव स्वर्गीय विपी कोइरालाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको थियो । कार्यक्रमहरुमा विपीको राजनीतिक, समाजिक तथा साहित्यिक योगदानको चर्चासमेत गरिएको थियो । कार्यक्रमहरुमा नेपालमा विभिन्न समयमा भएका लोकतान्त्रिक आन्दोलनका शहिदहरुको श्रद्धान्जलीसमेत व्यक्त गरिएको थियो । स्मृति दिवस साताव्यापीरुपमा देशैभरि मनाइने काँग्रेस केन्द्रीय समितिले जनाएको छ ।
दिवसकै अवसरमा नेपाली काँग्रेस, बाँकेले आज बिहान नेपालगञ्जस्थित विपी चोकस्थित विपीको शालिकमा माल्यार्पण तथा श्रद्धान्जील सभा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाली काँग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलले विपीको शालिकमा माल्र्यापण गर्नुभएको थियो । त्यस अवसरमा प्रमुख अतिथि काँग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी र जिल्ला सभापति गौडेलले महामानव विपी कोइरालाको बिचारको वाटो काँग्रेसले छाड्न नहुनेमा जोड दिनुभयो ।

स्मृति दिवसकै अवसरमा बाँकेको कोहलपुर—८ पिपरीस्थित शितल बनवाटिका तथा जैविक पार्कमा बाँके काँग्रेसले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । उक्त पार्कमा विभिन्न जातका ८०० बिरुवा रोपिएका छन् । वृक्षारोपमा काँग्रेस केन्द्रीय सदस्य बाल्मिकी, सभापति गौडेल, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेनुसिंह ठाकुरलगायत विभिनन तहका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सचिव कोइरालाले संचालन गर्नुभएको कार्यक्रममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, पूर्व पार्टी सभापति जननायक विपी कोइराला र संविधानका पिता, पार्टी सभापति एवंम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको तस्वीरमा केन्द्रीय सदस्य बाल्मिकी र सभापति गौडेललगायतले माल्र्यापण गरी श्रद्धान्जली व्यक्त गर्नुभएको थियो ।
यसैबीच, स्मृति दिवसकै अवसरमा नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ ले आज बिहान कोहलपुर शिक्षण अस्पतालका १०० जना बिरामीलाई फलफुल वितरण गरेको छ । क्षेत्रीय सभापति पोषण केसीलगायत क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरु एवम् विभिनन तहका नेता, कार्यकर्ताहरुले बिरामीहरुलाई फलफुल वितरण गर्नुभएको थियो । स्मृति दिवसकै अवसरमा क्षेत्रीय समितिले आजै राप्तीसोनारी—८ स्थिति शिवशक्ति मावि र वडा नं. ५ स्थित भुवरभवानी माविको प्रांगणमा वृक्षारोपण गरिएको छ ।

क्षेत्रीय सभापति केसीका अनुसार, स्मृति दिवसका अवसरमा क्षेत्रीय समितिले भोलि साउन ७ गते राप्तीसोनारी—७ नन्कौपुरस्थित अमरज्योति माविमा पाठेघर मुखको क्यान्सरको पहिचान र बाँझोपन सम्बन्धि एक दिने शिविरको आयोजना गर्दैछ । शिविरमा नेपालगञ्जस्थित एचसीआरसीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य सेवा दिने जनाइएको छ ।

यस्तै, विपी कोइरालाको ४३औं स्मृति दिवसकै अवसरमा प्रजातन्त्र सेनानी स्वर्गीय माया गिरीलाई मरणोपरान्त सम्मान गरिएको छ । गिरीलाई प्रजातान्त्रिक सेनानी संघ, बाँकेले सम्मान गरेको हो । आज डुडुवा गाउँपालिकाको कम्दीस्थित पशुपतिनाथ सामुदायिक बन कार्यालय परिसरमा भएको कार्यक्रममा प्रजातन्त्र सेनानी संघ स्वर्गीय गिरीका सुपुत्र टिकानाथ गिरीलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस, बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा उपसभापति अधिकारी, संघका केन्द्रीय सदस्य रुपमाया बस्नेत, प्रदेश महामन्त्री जयलाल न्यौपाने, प्रदेश सदस्य गोविन्द ढकाल, जिल्ला सचिव कृष्ण सापकोटालगायतले बोल्नुभएको थियो । संघका अर्का सचिव डिल्ली रावतले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्ष संघका उपाध्यक्ष परमेश्वरी पाठकले गर्नुभएको थियो । सचिव सापकोटाका अनुसार, दिवसका अवसरमा सोही सामुदायिक बन कार्यालय परिसरमा विभिन्न जातका वृक्षारोपण समेत गरिएको थियो ।

यस्तै, महामानव विपी कोइरालाको स्मृति दिवसका अवसरमा साउन ८, ९, १० र १२ नेपाल किसान महासंघले बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पताल प्रागंणमा वृक्षारोपण, नेपालगञ्जको हडियाबाबा मन्दिरमा सरसफाई, किसानहरुलाई निशुल्क विउविजन वितरण र वक्ततृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गर्दैछ ।








