नेपालगञ्ज, २० असार । नेपालगञ्ज बसपार्कमा कुलिङ सेन्टर (शितलन केन्द्र) निर्माण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लगानीमा निर्माण गरिएको कुलिङ्ग सेन्टर आजदेखि विधिवत सञ्चालनमा आएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको रु २७ लाख र रेडक्रसको रु १२ लाख गरी कुल रु ३९ लाखको लागतमा उपकरणसहितको कुलिङ्ग सेन्टर भवन निर्माण गरिएको भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर भुपेन्द्र बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार, कुलिङ सेन्टरमा आपतकालीन स्वास्थ्य सेवा, पिउने पानी लगायत सुविधा रहेको छ ।
कुलिङ सेन्टरको एक औपचारिक कार्यक्रमका बीच नेपालगञ्जका मेयर प्रशान्त विष्टले उद्घाटन गर्दै तातो हावा (लु) वाट यात्रुहरुलाई जोगाउन प्रतिकार्य योजना अन्तर्गत कुलिङ सेन्टर निर्माण गरिएको बताउनुभयो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, विपद समिति संयोजक एवम् वडा नं. ६ का अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर ४ का अध्यक्ष गोपाल पुन, रेडक्रस बाँकेका निमित्त कार्यालय प्रमुख निरञ्जना मल्ल लगायतको उपस्थिति थियो ।