नेपालगञ्ज, ३० जेठ । प्रथम नगर माविस्तरीय मेयर कप भलिबल प्रतियोगिताको छात्रतर्फको उपाधि धम्बोझी माविले उचालेको छ । आज भएको फाइनल खेलमा धम्बोझी माविले जय जनता माविलाई २५-१६, २५-१६ को सोझो सेटमा पराजित गरी उपाधि उचालेको हो । छात्रतर्फ मंगल माविले तेस्रो स्थान हासिल गरेको छ ।
त्यस्तै आजै भएको छात्रातर्फको फाइनल प्रतिस्पर्धामा आदर्श माविले युनाइटेड माविलाई २५-१६, २५-१३ ले पाखा लगाउदै उपाधि जितेको छ । छात्रातर्फ जयबागेश्वरी माविले तेस्रो स्थानमा चित्र बुझाएको छ ।
प्रतियोगिता समापन समारोहमा नेपालगञ्जका मेयर प्रशान्त विष्टले विजयी खेलाडीहरुलाई नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गर्दै खेलकुले स्वस्थ्य जनशक्ति उत्पादन गर्नुका साथै देशको नाम विश्वजगतमा उच्च राख्न महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि शर्मा, आयोजक पूर्व खेलाडी समाजका कार्यवाहक अध्यक्ष निजामुद्धिन सिद्धिकीलगायतले पनि विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । त्यस अवसरमा प्रतियोगिता आयोजनामा महत्वपूर्ण सहयोग पुर्याउने व्यक्तिहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।