बर्दिया, १ असार । ग्रीन इकोनोमी परियोजना अन्तर्गत बर्दिया राजापुरका किशोरीहरुलाई कृषिजन्य व्यवसाय सञ्चालनका लागि ‘स्टार्ट-अप’ सहयोग सामग्री निशुल्क उपलव्ध गराइएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले बर्दियामा डेढ वर्षदेखि ग्रीन इकोनोमी परियोजना सञ्चालन गर्दै आएको छ । यो परियोजनाको अवधि तीन वर्षको रहेको क्लबका अधयक्ष रबि तुलाधरले बताउनुभयो ।
परियोजना कार्यक्रममा समेटिएका मध्ये १४ जना किशोरीहरुलाई आर्गनिक कृषिजन्य व्यवसाय सञ्चालनका लागि विभिन्न सामग्री उपलव्ध गराइएको छ । किशोरीहरुलाई ३९० घण्टाको विषयगत तालिम दिइएपछि उनीहरुले रोजेको फरक फरक कृषि व्यवसाय सञ्चालनका लागि जनही करिब २४ हजार मूल्य बराबरका स्टार्ट-अप सामग्री उपलव्ध गराइएको हो ।
यसैगरी सोही परियोजना अन्तर्गत बेतबाँस सम्बन्धि व्यवसाय सञ्चालनका लागि ११ जना किशोरीहरुलाई पनि सोही मूल्य बराबरका स्टार्ट-अप सामग्री उपलव्ध गराइएको छ ।
आज बर्दियाको राजापुरमा आयोजित दुई छुट्टाछुट्टै समारोहमा राजापुर नगरपालिकाका उपमेयर मन्कलाकुमारी चौधरी र वडा नं. ६ का अध्यक्ष असराज न्यौपाने, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्धिकी र अध्यक्ष तुलाधरले किशोरीहरुलाई सहयोग सामग्री प्रदान गर्नुभएको थियो ।
त्यस अवसरमा मेयर चौधरी र वडा अध्यक्ष न्यौपानेले प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबले राजापुरमा किशोरीहरुको व्यक्तित्व विकासका लागि परियोजना कार्यक्रम सञ्चालन गरेर ठूलो गुन लगाएको बताउदै राजापुर नगरपालिकाले पनि कार्यक्रममा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
क्लबका अध्यक्ष तुलाधरको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम अधिकृत, क्लबका सल्लाहकारहरु, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
किशोर-किशोरीका लागि निशुल्क स्वास्थ्य शिविरः
यसैबीच, बाँके युनेस्को क्लब र बढैयाताल गाउँपालिकाको स्वास्थ्य शाखाले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा तथा बढैयाताल गाउँपालिका–८ को कालिका स्वास्थ्य संस्थाको समन्वयमा ‘गर्ल्स स्ट्यान्डिङ स्ट्रङ’ परियोजना अन्तर्गत सञ्चालन गरिएको यौन तथा प्रजनन स्वास्थ्य शिविरमा किशोरकिशोरीहरूको स्वास्थ्य जाँच गरिएको छ ।
शिविरमा सीमान्तकृत समुदायका १० देखि २४ वर्ष उमेर समूहका १६८ जनाको स्वास्थ्य जाँच गरिएको थियो ।
शिविरको उद्घाटन बढैयाताल गाउँपालिकका उपाध्यक्ष लक्ष्मी अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको अधयक्ष वडा नं. ८ का अध्यक्ष तेजनाथ पौडेलले गर्नुभएको थियो ।
शिविरमा गर्भनिरोधक तथा परिवार योजना परामर्श, सुरक्षित गर्भपतन सम्बन्धी परामर्श, एचआइभी परीक्षण, गर्भ परीक्षण, महिनावारी सम्बन्धी समस्या, ओपीडी सेवा, ल्याब परीक्षणलगायतका सेवा रहेका थिए ।
नेपालगञ्ज मेडिकल कलेज तथा स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श दिइएको थियो ।