नेपालगनञ्ज, २८ जेठ । नेपालगञ्जमा मेयर कप नगरस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आजवाट सुरु भएको छ । पूर्व खेलाडी समाज बाँकेले प्रतियोगिता आयोजना गरेको हो । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा नेपालगञ्जका १३ माध्यमिक विद्यालयका १० छात्र तथा १० छात्रा गरी २० टीमको सहभागिता रहेको छ । प्रतियोगिता नकआउटका आधारमा खेलाइएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुनेले रु १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पूर्व खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले जानकारी दिनु भयो ।
प्रतियोगिताको प्रमुख अतिथि नेपालगनञ्जका उपमेयर कमरुद्दिन राईले उद्घाटन गर्दै खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको पहिचान र नामलाई बढाएको बताउनुभयो । राईले भलिबल खेलको विकास तथा खेलाडी उत्पादनका लागि प्रतियोगिताहरु निरन्तर भइरहनुपर्नेमा समेत जोड दिनुभयो ।
पूर्व खेलाडी समाज बाँकेका कार्यवाहक अध्यक्ष निजामुद्धिन सिद्धिकीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन समारोहमा महासचिव जयन्त कुमार शर्मा र सदस्य आशा बिष्टले प्रतियोगिता आयोजनाको उद्देश्यवारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नेपालगनञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, नेपालगन्ज वडा नं. २ का वडा अध्यक्ष मनोज श्रेष्ठ, नेपाल रेडक्रस बाँकेका सभापति गोबर्द्धन सिंह सम्झना, नेपाली काँग्रेस बाँकेका सचिव सुधान्शु कोइराला, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पूर्व अध्यक्ष निरज गौतम लगायतको उपस्थिति रहेको थियो ।