नेपालगञ्ज, २३ जेठ । प्लाष्टिक जन्यपदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड दिइएको छ । प्लाष्टिक फोहोरले वातावरणलाई प्रत्यक्ष रुपमा असर पार्दै गएकाले यसको जोखिमबाट बच्नुपर्ने कुरामा जोड दिइएको छ ।
विश्ववातावरण दिवस २०८२को अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा आयोजित सरोकारवालाविचको अन्तरक्रिया कार्यक्रमका सहभागीले नगरबासीले आ–आफ्नो घरबाट प्लाष्टिकजन्य फोहोरको नियन्त्रणमा अभियान संचालन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा वन तथा भुमिगत विज्ञ रमेश गौतम र वातावरण विज्ञ सरोजकुमार तामाङ्गले विषयगत प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका विपद् व्यवस्थापन तथा वातावरण समिति संयोजक समिरप्रताप सिंहले नेपालगन्ज उपमहानगरले वातावरण संरक्षणमा जोड दिएको बताउनुभयो । ‘यो कार्यक्रममा सबैको सहयोगको खाँचो छ’—संयोजक सिंहले भन्नुभयो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिका सदस्य बसन्तकुमार कानोजिया, ग्रिन नेपालगञ्ज क्लिन नेपालगञ्जका अध्यक्ष डा विनोद कर्ण, सामाजिक अभियन्ता हेमन्त काफ्ले, कृष्णप्रसाद श्रेष्ठ, रविन्द्र ज्ञवाली, कृष्णमुरारी प्रसाद भट्ट, गोपाल गिरी, टेकनाथ आचार्य, पत्रकार सावित्रीगिरी, पुर्णतारा फाउण्डेशनका अध्यक्ष ताराकुमारी रोकायलगायतले बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।