नेपालगञ्ज, १६ बैशाख । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ४ नउलापुरका करीब दश वर्षीया बालक कुशल बुढाको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको छ ।
बालक बाँके कोहलपुरमा डेरा गरी बस्ने यशोदा बुढाको छोरा भएको पुष्टि भएको प्रहरीले जनाएको छ । कोहलपुर माविमा कक्षा ३ मा अध्ययनरत कुशल बैशाख आठ गतेदेखि हराएका थिए । आमा यशोधाले छोरा हराएको निवेदन बैशाख नौ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा दर्ता गराउनुभएको थियो ।
कुशलको शवलाई खेतमा खाल्डो खनेर गाडिएको थियो । उक्त स्थानमा बाख्रा चराउन गएकाहरुले मान्छेले खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भन्दा केही पर परालले छोपेको अवस्थामा साइकल र कुशलको टिसर्ट गाडिएको थियो ।
कुशलका बुबाको केही वर्ष पहिला मृत्यु भएपछि आमाले निरकनाथ योगीसँग दोस्रो विवाह गरेकी थिइन् । उनीहरु कोहलपुरमा डेरा गरी बस्दै आएका थिए ।
घटना बारे अनुसन्धान भइरहेको र आमा र सौतेलो बुबालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।