नेपालगञ्ज, १५ बैशाख । नेपालगञ्जमा आज हरित प्राविधिक तथा व्यवसायिक शिक्षा तालिम सम्वन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको उक्त अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि लुम्विनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले समाज बनाउने दायित्व सबैको साँझा भएको बताउनुभयो ।
मन्त्री तिमिस्सिनाले अरु पेशा, व्यवसायीभन्दा शिक्षकहरुको सामाजिक दायित्व अलि बढी हुने भएकाले त्यसैअनुरुप चल्नुपर्नेमा जोडसमेत दिनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव विष्णु पन्थीले प्राविधिक शिक्षालाई जलवायुमैत्री बनाउन अभिमुखीकरण कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पन्थीका अनुसार, कार्यक्रममा प्राविधिक शिक्षा संचालन भएका विद्यालयका प्रधान अध्यापक, शिक्षक, पालिकाका शिक्षा शाखा प्रमुख लगायतलाई अभिमुखीकरण गरिएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य सुशीला नेपाली र मीना सिद्दिकी, सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख उद्धव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।