नेपालगञ्ज, २८ चैत्र । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तीन विभागीय टिम तथा भारतको सिलगुडी फुटबल क्लबसहित आठ टिमको सहभागिता हुने भएको छ ।
आयोजक अन्तरालले पत्रकार सम्मेल गर्दै प्रतियोगितामा सहभागि हुने टिमको घोषणा गरेको हो । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार, प्रतियोगिताको विजेता टिमले रु पाँच लाख र उपविजेता टिमले रु दुई लाख ५० हजार नगद, ट्रफी तथा मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताका हरेक खेलमा उत्कृष्ट खेलाडी र विधागततर्प उत्कृष्ट हुनेलाई पुरस्कृत गरिनेछ ।
नेपालगञ्ज रंगशालामा आगामी बैशाख पाँच गतेदेखि १२ गतेसम्म प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिता हेर्नको लागि सिजनल फुल प्याकेज रु १५ सयको टिकट ब्यबस्था गरिएको छ । साथै विद्यार्थीहरुको लागि सहुलियतको पनि ब्यबस्था गरिएको आयोजकले जनाएको छ । खेल हेर्नका लागि भिआइपी प्यारापिट र नर्मल प्याराफिट अनुसार टिकटको व्यवस्था गरिएको छ ।
लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशी अहिलेसम्मकै उत्कृष्ट भएको आयोजकको दाबी छ । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने विश्वाससमेत लिइएको छ ।
प्रतियोगितामा सहकार्य गरेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कप महिला फुटबल सहायक सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताको प्रचार प्रसार उपसमिति संयोजक निरज गौतमले स्वागत गरेको कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगञ्जका प्रमुख महेश चन्द ,अखिल नेपाल फुटबल संघका निवर्तमान केन्द्रीय सदस्य प्रदेशसिंह राठौर, अखिल नेपाल फुटबल संघका पूर्व उपाध्यक्ष गोवर्धनसिंह सम्झना, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीलगायतका वक्ताहरुले प्रतियोगिता सफल बनाउन सबैखाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रतियोगिता आयोजनाको लागि विभिन्न क्षेत्रमा सहकार्य गर्ने निकायहरुसँग सम्झौतापत्र आदान–प्रदान गरिएको थियो । जसअनुसार, टिकट पार्टनर ई—सेवा नेपालगञ्ज शाखाका म्यानेजर महेन्द्र रानालाई सचिवालय प्रमुख रमेश मल्लले सम्झौतापत्र हस्तान्तरण गर्नुभयो । हस्पिटालिटी पार्टनर होटल सिटी प्यालेसका संचालक दुर्गानाथ अर्याललाई प्रतियोगिता समन्वय तथा परीचालन उपसमिति संयोजक तेजविक्रम शाहले फाइल हस्तान्तरण गर्नुभयो ।
अफिसियल फिजियो पार्टनर मनमाया मेमोरियल फिजियोथेरापी सेन्टरका संचालक डा. खेमा भण्डारीलाई प्रतियोगिताका पव्लिक रिलेसन म्यानेजर चाहना शाहले र सेक्युरिटी पार्टनर रक्षक सेक्युरिटीका सुपरभाइजर नीम खत्रीलाई प्रतियोगिता प्रचारप्रसार उपसमिति संयोजक निरज गौतमले र प्रत्यक्ष प्रसारणका लागि खेलाडी डटकम लुम्बिनी प्रदेश ब्युरो प्रमुख कमल खत्रीलाई राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य विनोद मैनालीले सम्झौतापत्र हस्तान्तरण गर्नु भएको थियो ।