नेपालगञ्ज, १५ चैत । नेपाली कांग्रेस, बाँकेको आज बसेको कार्यसमिति बैठकले पार्टीको तेस्रो जिल्ला सम्मेलन नेपालगञ्जमा भव्य तथा सभ्यरुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
पार्टीको तेस्रो जिल्ला सम्मेलन यही चैत ३० गते नेपालगञ्जको भवनियापुरस्थित सिटी हलमा गर्ने कार्यक्रम रहेको छ । जिल्ला सम्मेलनको महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
पार्टी सभापति नारायणप्रसाद गौडेलको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले जिल्ला सम्मेलनमा प्रस्तुत हुने बार्षिक नीति तथा कार्यक्रम समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।
जिल्ला सम्मेलनलाई व्यवस्थितरुपमा सम्पन्न गर्न पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा विभिन्न उपसमिति निर्माण गरेको छ । ती उपसमितिको नाम र त्यसमा जिम्मेवारी लिनेहरुका नाम पनि बैठकले पारित गरेको छ ।
यसैगरी, बैठकमा सचिव सुधांशु कोइरालाद्धारा प्रस्तुत सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्ष यज्ञ बस्नेतद्धारा प्रस्तुत २०८१ साउन १ गतेदेखि २०८१ चैत १२ गतेसम्मको आय—व्यय विवरणसहितको आर्थिक प्रतिवेदन समेत सर्वसम्मतरुपमा पारित गरिएको छ ।
बैठकमा पार्टीको केन्द्रीय समितिको परिपत्र पनि सभापत गौडेल प्रस्तुत गर्नुभएको थियो । केन्द्रको परिपत्रमा बाँके जिल्लाका पार्टी कार्यकर्ताहरुलाई क्षमता तथा नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिने विषय समावेश गरिएको छ ।
सोही बैठकले हिजो राति काठमाडौंस्थित आप्नै घरको छतवाट लडेर दिवंगत हुनुभएको पार्टीका नेता रमेश भण्डारीप्रति हार्दिंक श्रद्धान्जली व्यक्त गरेको छ ।