नेपालगञ्ज, १२ चैत । बाँकेको नरैनापुर गाउँपालिकाको जयरामपुर्वामा आज दिउसो आगलागी हुँदा डेढ दर्जन घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट १७ बढी घरगोठ जलेर नष्ट भएको नरैनापुर गाउँपालिकाले जानकारी दिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियो । एक आपसमा जोडिएका घरगोठमा लागेको आगो तीव्र हावाहुरीका कारण नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार, आगलागीवाट रु २५ लाखभन्दा बढीको क्षति भएको छ ।
अध्यक्ष शाहले आगलागी पीडितलाई राहत दिने प्रतिबद्धता जनाउनुभएको छ । तत्कालका लागि विभिन्न निकायसँगको समन्वयमा आज राति पीडित परिवारका लागि पाल र खानाको व्यवस्था गरिएको छ ।