नेपालगञ्ज, १० चैत । बाँकेमा महिला जनप्रतिनिधि र महिला पत्रकारबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । आगामी चैत १५ गते शुक्रबार नेपालगन्ज रंगशालामा हुने मैत्रीपुर्ण फुटबलको तयारी बारेमा आइतबार छलफल भएको छ ।
छलफलमा आयोजक, जनप्रतिनिधि महिला र पत्रकारहरुको प्रतिनिधिहरुबिच छलफल भएको थियो । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी वैशाख ५ देखि १५ गते सम्म नेपालगन्ज रंगशालमा प्रथम लुम्बिनी कप अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको आयोजना हुँदैछ । प्रतियोगिता अघि मैत्रीपुर्ण फुटबलको आयोजना गर्न लागिएको हो ।
आइतबार भएको छलफलका क्रममा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफले, मीना श्रेष्ठले प्रतियोगितालाई सफल बनाउन मैत्रीपुर्ण फुटबलले महत्वपुर्ण सन्देश प्रवाह गर्ने बताउनु भयो । जिल्ला समन्वय समिति बाँके उपप्रमुख सीता कार्कीले प्रतियोगिताले महिला खेलाडीहरुको आत्मविश्वास बढाउन र अवसर प्रदान गर्ने भन्दै यसलाई सफल बनाउन सबै क्षेत्रसँग सहकार्यको आवश्यकता रहेको बताउनु भयो ।
कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले महिला सशक्तिकरणसँगै महिला फुटबल खेलाडीलाई उच्च स्तरको अवसर प्रदान गर्नमा प्रतियोगिता सहयोग बन्ने बताउनु भयो । खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले लुम्बिनी कप महिला फुटबल बाँकेमा हुनु गर्वको विषय भएको बताउँदै प्रतिभावान खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिष थारु, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय लगायतको सहभागिता रहेको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाको निवर्तमान उपप्रमुख उमा थापामगरको संयोजकत्वमा भएको छलफलमा बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्रचार प्रसार संयोजक निरज गौतम, सचिवालय प्रमुख रमेश मल्ल र समन्वय तथा परिचालन उपसमिति संयोजक तेजबिक्रम शाहको सहभागिता रहेको थियो ।
पहिलो पटक नेपालगन्ज रंगशालामा हुन लागेको प्रतियोगितामा भारतका दुई र नेपालका ६ सहित आठ टीमको सहभागिता रहनेछ । सहभागी टीममा नेपाल र भारतका ख्यातीप्राप्त र चर्चित खेलाडीहरुको सहभागिता रहने जनाइएको छ ।