नेपालगञ्ज, १३ फागुन । संघीय सरकारका उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास र सुशासनका सवालमा वर्तमान सरकारले कसैसंग कुनै पनि खालको सम्झौता नगर्ने बताउनुभएको छ ।
नेपालगञ्ज वडा नं. १४ भवनियापुरमा निर्माण गरिएको अत्याधुृनिक सिटी हलको आज एक समारोहका बीच उद्घाटन गर्नै मन्त्री सिंहले सरकारले केहि गरेको छैन भन्नेहरुका पछि नलाग्न आग्रह गर्दै यो सरकारको पहिलो प्राथमिकता नै विकास र भ्रष्टाचारको अन्त्य भएको स्पष्ट पार्नुभयो ।
मन्त्री सिंहले नवनिर्मित सिटी हल सदुपयोग गर्न सम्वद्ध पक्षलाई आग्रह गर्दै हलको उपयोगिताले नेपालगञ्जको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा संघीय सांसदहरु किशोर सिंह राठौर, दिपा शर्मा, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल लगायतले पनि बोल्नुभएको थियो ।
त्यस अवसरमा सघन शहरी तथा भवन निर्माण आयोजना नेपालगञ्जका कार्यालय प्रमुख रामकृष्ण आचार्यले नेपालगञ्जका मेयर प्रशान्त विष्टलाई उक्त सिटी हल हस्तान्तरण गर्नुभयो । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, सघन सहरी तथा भवन निर्माण आयोजना अन्तर्गत रु २८ करोडको लागतमा सिटी हल निर्माण गरिएको हो ।
सिटी हलमा ७९५ सिट रहेको छ । त्यसका अलावा अन्य तीन वटा स—साना बहुउद्देश्यीय हल पनि रहेको आयोजना प्रमुख आचार्यले बताउनुभयो ।