नेपालगञ्ज, ६ फागुन । नवौं संस्करणको लुम्बिनी प्रदेशस्तरीय महिला उद्यम प्रदर्शनी आजदेखि नेपालगञ्जमा शुरु भएको छ । महिला उद्यमी संघ (वीन), बाँकेले प्रदर्शनीको आयोजना गरेको हो ।
नेपालगञ्जको शक्तिपीठ बागेश्वरी मन्दिर परिसरको चिल्ड्रेनपार्कमा आयोजना गरिएको उक्त प्रदर्शनीको मेयर प्रशान्त विष्ट र महिला उद्यमी महासंघका केन्द्रीय सदस्य शोभा ज्ञवालीले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा मेयर विष्टले महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुको बजारीकरण र उद्योग प्रवद्र्धनमा नेपालगञ्ज उपमहानगरपालिकाले सघाउने प्रतिबद्धता जनाउनुभयो ।
महिला उद्यमी महासंघका केन्द्रीय अध्यक्ष ज्ञवालीले महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन महिला उद्यमी संघले महत्वपूर्ण भूमिका खेल्दै आएको दावी गर्नुभयो ।
महिला उद्यमी संघ लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले शुरुवाती वर्षमा थोरै बजेटबाट शुरु गरिएको प्रदर्शनी नवौ संस्करणसम्म आइपुग्दा महिला उद्यमीहरुका व्यापार, व्यवसायमा धेरै सुधार आएको छ भन्नुभयो ।
महिला उद्यमी संघ, बाँकेका अध्यक्ष सावित्रा पोखरेल बस्नेतको अध्यक्षतामा भएको प्रदर्शनी उदघाटन कार्यक्रममा कोहलपुरका उपमेयर संगिता सुवेदी, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, नेपालगञ्जका पूर्व उपमेयर उमा थापामगर लगायत पनि बोल्नुभएको थियो ।
महिला उद्यमी संघ, बाँकेका अध्यक्ष बस्नेतका अनुसार, फागुन १० गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा बाँके, बर्दिया, सुर्खेत, दांग, प्युठान, रोल्पा, पूर्वी रुकुम, सल्यान , कर्णाली प्रदेशलगायत जिल्लाका महिला उद्यमीहरुका ६० स्टल राखिएका छन् ।
प्रदर्शनी स्टलमा परम्परागत रुपमा तयार गरिएका मस्यौरा, अल्लोका सामान, बेतका सामान, खुकुरी, बेसार, अचार, महँ, ह्याण्ड मेड जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान राखिएका छन् ।
प्रदर्शनी अवधिमा फागुन ७ गते महिला उद्यमीहरुको समस्या, चुनौति र अवसरका बारेमा संवाद, ८ गते युवा उद्यमशीलता तथा स्वरोजगार उत्प्रेरणा र फागुन ९ गते सफल महिला उद्यमीहरुको अनुभव आदानप्रदान कार्यक्रमको समेत आयोजना गरिने प्रदर्शनी संयोजक रेवती सिंहले जानकारी दिनुभयो ।