नेपालगञ्ज, ४ फागुन । नेपालगञ्जमा लुम्बिनी प्रदेश अन्तर्गत जिल्लाका महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रदर्शनी हुने भएको छ ।
महिला उद्यमी संघ नेपाल बाँकेले ‘नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी २०८१’ अन्तर्गत उक्त कार्यक्रम गर्न लागेको हो । नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरको पूर्वपट्टि रहेको पार्कमा प्रदर्शनी आयोजना गर्न लागिएको आज आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइएको छ ।
यही फागुन ६ गतेदेखि १० गतेसम्म नवौं संस्करणको उक्त प्रदर्शनीमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पुर्व रुकुम, सल्यान लगायतका जिल्लाका १५० भन्दा बढी महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुको ६० स्टल राखिने संघका अध्यक्ष सावित्रा पोखरेल वस्नेतले जानकारी दिनुभयो ।
प्रदर्शनीकै क्रममा फागुन ७ गते महिला उद्यमी उत्प्रेरणा, ८ गते युवा उद्यमशिलता र स्वरोजगार उत्प्रेरणा र ९ गते सफल महिला उद्यमीहरुको अनुभव आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरिने छ ।
उक्त प्रदर्शनीमा बेतको सामान, खुकुरी, भाङ, स्थानीय उत्पादन बेसार, अल्लोबाट बनेको सामान, मस्यौरा, अचार, मह, थाकल, ढाकाको कपडा, काँसका सामान, ह्याण्ड मेड जुत्ता, हस्तकलाका सामान, तोरीको तेल, अण्डा लगायतका बस्तुहरु राखिने अध्यक्ष वस्नेतले बताउनुभयो ।