नेपालगञ्ज, ११ माघ । लुम्बिनी कप महिला फुटवलको तयारीलाई तिव्रता दिने क्रममा आर्थिक र अतिथि संयोजन उपसमितिको संयोजक मनोनयन गरिएको छ ।
आर्थिक उपसमितिको संयोजकमा वरिष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेपा) का पूर्व सदस्य विनोद मैनाली र अतिथि संयोजन उपसमितिको संयोजकमा राखेपाका पूर्व सदस्य सुमित्रा चौधरीलाई मनोनयन गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी फागुन १९ देखि २९ गतेसम्म नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ ।
नवगठित आर्थिक उपसमितिका संयोजक मैनाली नेपाल क्रिकेट संघ (क्यान) का पूर्व बरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ । राष्ट्रिय खेलकुद परिषद्को सदस्य रहदा मैनालीले सफलतापूर्वक आप्नो भूमिका निर्वाह गर्नुभएको थियो । नेपाल खेलकुद महासंघको संस्थापक उपाध्यक्ष मैनाली व्यवसायिक क्षेत्रमा पनि अहिले उत्तिकै सक्रिय हुनुहुन्छ । नेपालगन्ज उद्योग बाणिज्य संघको पूर्व कार्यकारी सदस्य, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लव, नेपाल क्षयरोग निवारण संघ लगायतका सामाजिक संघसंस्थाहरुमा मैनालीको सक्रियता अभैm कायमै रहेको छ ।
यस्तै नवगठित अतिथि संयोजन उपसमितिका संयोजक चौधरी पत्रकारिता पृष्ठभूमिका हुनुहुन्छ । उहाँले विभिन्न सञ्चार माध्यममा रहेर काम गर्नुभएको छ । गैरसरकारी क्षेत्रमा पनि चौधरीको संलग्नता र अनुभव रहेको छ । हाल क्रियाशील पत्रकार महिला समूह (डब्लु डब्लु जे ) बाँकेको सहसचिव चौधरी घरेलु तथा साना उद्योग महासंघ अन्तर्गतको महिला उद्यमी संघ बाँकेका पूर्व अध्यक्ष पनि हुनुहुन्छ ।