नेपालगञ्ज, १६ पुस । गत एक वर्षको अवधिमा जोखिमपूर्ण यात्रामा रहेका ५९८ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ ।
माइती नेपाल नेपालगञ्जको तथ्यांक अनुसार, सन् २०२४ मा भारतलगायत विभिन्न देशका लागि जोखिमपूर्ण यात्रामा निस्केका उक्त संख्याका महिला तथा बालिकाको उद्धार गरिएको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा आज नेपालगञ्जमा भएको मानव बेचविखन तथा ओसारपसारविरुद्ध संचारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले तथ्यांक प्रस्तुत गर्दै गत एक वर्षको अवधिमा ७७७ जनाले खोजतलासको निवेदन दिएका थिए । त्यसमध्ये ४०७ जना फेला परेका छन् ।
संयोजक कोइरालले पछिल्लो समययता सामाजिक सञ्जालको दुरुपयोग गरेर दलालहरु बेचविखनमा सक्रिय रहेको बताउनुभयो । उहाँले भन्नुभयो-‘हामीले तीनै तहका सरकारसँग समन्वय गरेर मानव बेचबिखन नियन्त्रणको काम गरिरहेका छौ, तर सरकारका अंगहरु यसप्रति खासै सम्वेदनशील देखिएका छैनन् ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीलगायतले बोल्नुभएको थियो ।