नेपालगञ्ज, १५ पुस । नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ बाँकेले आज तेस्रो वडा सम्मेलन गरेको छ ।
नेपाली कांग्रेस बाँकेको चार महिने अभियान एवम् नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सय दिने अभियान अन्तर्गत वडास्तरीय कार्यक्रमकै बीच तेस्रो वडा सम्मेलन गरिएको वडा सभापति नन्दलाल बस्नेतले बताउनुभयो ।
सम्मेलन वडा सभापति बस्नेतको अध्यक्षता एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा भएको थियो ।
कांग्रेस बाँकेले गत भदौ २४ गतेदेखि सुरु गरेको चार महिने अभियान पुस मसान्तसम्म चल्नेछ भने असोज ७ गतेदेखि सुरु भएको केन्द्रको सय दिने अभियान भोलि पुस १६ गते सकिँदैछ ।
राप्तीसोनारी वडा नं. २ मा भएको वडा सम्मेलनमा नेपाली काँग्रेसका जिल्ला सभापति गौडेल, गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, कांग्रेस बाँके प्रवक्ता डिल्ली गिरीलगायतले बोल्नुभएको थियो ।
सम्मेलनका अवसरमा नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टी परित्याग गरी ६१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गरेकाहरुलाई सभापति गौडेल लगायत अतिथिहरुले स्वागत गर्नुभएको थियो ।