नेपालगञ्ज,१५ पुस । बाँकेमा महिला फुटबल समिति गठन गरिएको छ । नितु शाह चन्दको अध्यक्षतामा फुटबल समिति गठन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा नागिनदेवी श्रेष्ठ र महासचिवमा सुमित्रा लामिछाने रहनुभएको छ ।
अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको विषेश उपस्थितिमा गठन गरिएको समितिले आगामी फागुनमा नेपालगञ्जमा हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि टीम तयार गर्ने जनाइएको छ ।
नवगठित समितिका अध्यक्ष चन्द महिला उद्यमी संघ नेपाल बाँकेको सचिव तथा पूर्व खेलाडी हुनुहुन्छ भने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बाँके जिल्ला फुटबल संघका पूर्व उपाध्यक्ष एवम् पूर्व खेलाडी हुनुहन्छ । यस्तै, महासचिव लामिछाने यस क्षेत्रको चर्चित खेलाडी हुनुहुन्छ । श्रेष्ठ र लामिछानेले तत्कालिन मध्यपश्चिम, भेरी र बाँके जिल्लाको टिमको प्रतिनिधित्व गर्दै फुटबल खेल्नु भएको थियो ।
नवगठित समितिका पदाधिकारीलाई निर्देशन दिदै अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य शाहीले भन्नुभयो—‘समितिका पदाधिकारीले महिला फुटबलको विकासका लागि ठोस योजना बनाएर अघि बढ्न सक्नुपर्छ ।’
अन्तरालले आयोजना गर्ने लुम्बिनी कप महिला फुटबल फागुन १९ देखि २९ गतेसम्म आयोजना हुदैछ । प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमको सहभागिता हुँदैछ । उक्त प्रतियोगितामा बाँके जिल्लाको टिमलाई सहभागि गराउनको लागि तयारी सुरु गर्ने संघले निर्णय गरेको छ ।