नेपालगञ्ज, १५ मंसिर । बाँकेमा गत आर्थिक वर्ष २०८०-८१ मा थप १०१ जनामा एचआइभी संक्रमण पुष्टि भएको छ ।
विश्व एड्स दिवसमा अवसरमा आज नेपालगञ्जमा आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांक अनुसार, आर्थिक वर्ष २०८१-८१ मा १० हजार ७५९ जनाको एचआइभी परीक्षण गर्दा १०१ जनामा एचआइभी संक्रमण पुष्टि भएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकलपर्सन रविन्द्रकुमार साहले बाँकेमा हाल ५९१ जनाले एड्सको नियमित औषधि सेवन गरिरहेका जानकारी दिनुभयो । साहका अनुसार, संक्रमितहरुले भेरी अस्पतालमा रहेको एआरटी सेन्टरबाट नियमित औषधि सेवन गरिरहेका छन् ।
त्यस अवसरमा भेरी अस्पतालका एचआइभी फोकलपर्सन वरिष्ठ फिजिसियन डा. संकेतकुमार रिसाल र एड्स हेल्थकेयर फाउन्डेसनका कार्यक्रम संयोजक संजय पौडेलले विषयगत प्रस्तुती गर्दै एचआइभी एड्सका विरुद्ध अभै जनमानसमा जागरण ल्याउनुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्यकर्मी दुर्गा गौतम, नेपाल पत्रकार महासंघ, बाँकेका पूर्व अध्यक्ष नीरज गौतम, पत्रकार रुपनी जिएम, रुपा गहतराजलगायतले बोल्नुभएको थियो ।
विश्व एड्स दिवसकै अवसरमा आज बिहान नेपालगञ्जमा प्रभातफेरी गरिएको थियो ।
नेपालमा हालसम्म ३० हजार ३०० एचआइभी संक्रमित रहेका छन् । तथ्यांक अनुसार, नेपालमा प्रत्येक दिन १ जना एचआइभी संक्रमित हुने गरेका छन् । नेपालवाट सन् २०३० सम्ममा एचआइभी संक्रमण अन्त्य सरकारी लक्ष्य रहेको छ ।