नेपालगञ्ज, ११ मंसिर । कालिकोटकी १४ वर्षीया बालिका कामना शाहीले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
अहिलेका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको स्थानमा कामनाले आज एक दिन उक्त मन्त्रालयको मन्त्रीको अनौपचारिक जिम्मेवारी पाउनुभएको हो । कामनाले यो जिम्मेवारी पाएसंगै पदको औपचारिक भूमिकासमेत निर्वाह गर्नुभएको छ । तर, कामनाको मन्त्री पदको भूमिका लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गतको एक कार्यक्रममा मात्र सीमित राखिएको थियो ।
प्लान इन्टरनेशनलले सञ्चालन गरेको गल्र्स टेक ओभर कार्यक्रममा कामनाले मन्त्रीको भूमिका निर्वाह गर्नु भएको हो । कार्यक्रममा मन्त्री बन्नुभएकी बालिका कामनाले बालबालिका र किशोरीहरु माथिहुने सबैखाले हिंसा अन्त्य हुनुपर्ने माग गर्नुभयो ।
कार्यक्रम कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री भण्डारीले सबै किशोरकिशोरी र युवाहरु नेपालको भविष्य भएकोले यो कार्यक्रमले तिनै किशोरकिशोरी र युवाहरुको सशक्तिकरण संगै, भविष्य र सम्भावना खोज्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा प्लान इन्टरनेशनल नेपाल पश्चिम क्षेत्रीय कार्यालयका प्रबन्धक मीना पराजुलीले गर्ल्स टेक ओभर जस्ता प्रतिकात्मक अभियानहरूले बालिका र किशोरीहरूको नेतृत्व क्षमता र सहभागिता बढाउदै जाने बताउनुभयो ।