नेपालगञ्ज, २० असोज । नेपालगञ्ज उपमहानगरपालिकाले प्रत्येक शनिबार सडकमा छाडा छोडिएका पशुचौपायालाई काञ्जीहाउस पुर्याउने गरेको छ ।
उपमहानगरपालिकाले नेपालगञ्जका विभिन्न स्थानमा छाडा अवस्थामा रहेका पशुचौपायालाई एकत्रित गरेर वडा नम्बर २१ विर्तास्थित काञ्जीहाउस पुर्याउने गरिएको हो ।
छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम बढदै गएपछि पालिकाले साताको एकदिन छाडा पशुचौपायालाई काञ्जीहाउस पुर्याउने गरेको नेपालगञ्जका मेयर प्रशान्त विष्टले बताउनुभयो ।
नगर प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरीको संयुक्त टोलीले छाडा पशुचौपायालाई कान्जीहाउस पुर्याउने गरेको जनाइएको छ । हिजो शनिवार पनि ५८ वटा पशुचौपायालाई काञ्जीहाउस पुर्याइएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीले जानकारी दिनुभयो ।
बोगटीका अनुसार, गाई तथा बाच्छा बाच्छी ३४, १५ वटा घोडा र ९ वटा बाख्रालाई काञ्जीहाउस पुर्याइएको छ ।