नेपालगञ्ज, १ असोज । बाँके जिल्लामा भदौ २४ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको चार महिने ‘पार्टी संगठन सुदृढीकरण अभियान’ को आज औपचारिक शुभारम्भ गरिएको छ । उक्त अभियानको आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले शुभारम्भ गर्नुभयो ।
त्यस अवसरमा केन्द्रीय सदस्य बाल्मिकीले पार्टी संगठनलाई सुदृढ र जीवन्त बनाउन अभियान सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । बाल्मिकीले अभियानमा पार्टीका सबै तहका कार्यकर्ता सक्रिय हुनुपर्नेमा समेत जोड दिनुभयो ।
कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी बलियो भए मात्र अन्य दलसंग प्रतिष्पर्धा गर्न सकिने बताउँदै आपसी मनमुटाव, बैमनश्यता र तिक्तता त्यागेर संगठन निर्माणमा लाग्न आग्रह गर्नुभयो ।
अभियान शुभारम्भ समारोहमा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, निर्वतमान सभापति किरण कोइराला, सचिव सुधांशु कोइरालालगायतले बोल्नुभएको थियो ।
सभापति गौडेलका अनुसार, अभियान अन्तर्गत जिल्लामा रहेका ८१ वटा वडाहरुको सांगठनिक अवस्थाको जानकारी लिने, वडा तथा टोलस्तरमा रहेका नेपाली कांग्रेसका अगुवा, जेष्ठ नागरिक, महिला र युवाहरुको पहिचान गरी पार्टीप्रतिको भूमिका, सक्रियताको अवस्थालाई विश्लेषण गरिने, र पार्टी संगठन सुदृढीकरणमा उनीहरुलाई एकताबद्ध बनाउँदै लैजाने अभियानको मुख्य उद्देश्य रहेको छ ।
उक्त अभियानका लागि बाँकेका सबै ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाइसकिएको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिनुभयो ।