नेपालगञ्ज, २५ भदौ । लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले आज राजीनामा दिनुभएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष मन्त्री कुर्मीले राजीनामा बुझाउनुभएको हो । तथापी, उहाँको राजीनामा भने स्वीकृत भएको छैन ।
बाँकेका निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणमा संलग्न भएको आरोप खेपिरहनुभएका कुर्मीविरुद्ध चौतर्फी दबाब बढेपछि उहाँले राजीनामा दिनुभएको बताइएको छ । नेपाली कांग्रेस पार्टी नेतृत्वले राजीनामा दिन सुझाएको बुझिएको छ । कुर्मीले भने उक्त घटनामा निर्दोष रहेको दावी गर्दै आउनुभएको छ ।
कुर्मीलाई मुख्यमन्त्री आचार्यले साउन ९ गते बिना विभागीय र साउन १८ गते वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोक्नुभएको थियो ।
गत निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उहाँ बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट लुम्बिनी प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।