नेपालगञ्ज, ११ भदौ । नेपालगञ्ज, उपमहानगरपालिकाका मेयर प्रशान्त नेपालगञ्जको स्वास्थ्य क्षेत्रमा सुधारको खाँचो रहेको बताउनुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाद्धारा आर्थिक बर्ष २०८०÷८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठीको आज उद्घाटन गर्दै मेयर विष्टले उपमहानगरपालिकाको स्रोतसाधन र सीमित बजेटका वावजुद पनि स्वास्थ्यमा राम्रो प्रगति देखिएको छ, तथापी यसमा थप सुधार आवश्यक रहेको छ भन्नुभयो ।
मेयर विष्टले स्वास्थ्यकर्मीलाई थप लगनशील र इमान्दारिताका साथ काम गर्न आग्रह गर्दै गोष्ठीमा प्रस्तुत हुने स्वास्थ्य संस्थाहरुको कार्यप्रगतिका आधारमा अगाडीको वाटो तय गर्न मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
गोष्ठीमा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले स्वास्थ्य क्षेत्रको कार्य प्रगति विवरण प्रस्तुत गर्दै मातृ शिशु मृत्युदर, बढ्दै गरेको नसर्ने रोग, केही वडामा कमजोर खोप उपलव्धि लगायतका विषय चुनौतीपूर्ण रहदै आएको छ भन्नुभयो ।
गोष्ठी उद्घाटन समारोहमा कार्यपालिका सदस्यहरु बसन्तकुमार कनोजिया, बिना थापा, मुजम्मिलहुसैन हलवाई, संगिता रेग्मी लगायतको उपस्थिति थियो ।