नेपालगञ्ज, १० भदौ । बाँकेको राप्ती नदी सिंधनियाघाटमा बैकुण्ठधाम निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारिएको छ । बैकुण्ठधाम निर्माणमा करिब रु २२ करोड बढी खर्च लाग्ने रकमको खाका तयार गरिएको छ ।
सस्थागतरुपमा सरकारी तथा गैरसरकारी निकायसंगको समन्वय तथा सहकार्यमा निर्माण गरिने बैकुण्ठधामका लागि जनस्तरवाट समेत सहयोग जुटाउन आगामी कात्तिक २२ गतेदेखि ३० गतेसम्म ‘बैकुण्ठधाम आध्यात्मिक महोत्सव’ गर्न लागिएको छ ।
महोत्सव आयोजनाका लागि सामाजिक अभियन्ता डा. सुरेशकुमार कनौडियाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
मूल समारोह समिति अन्तर्गत अहिलेसम्म ३१ वटा विभिन्न उपसमिति गठन गरिएको छ । मूल समारोह समितिका संयोजक डा. कनौडियाका अनुसार, समिति अन्तर्गत कुल ६४ वटा उपसमिति गठन गरिने छ । आवश्यकताका आधारमा समितिको संख्या बढाउदै लगिने समेत डां कनौडियाले बताउनुभयो ।
यसैबीच नेपालगञ्जमा स्थापना गरिएको मूल समारोह समिति सचिवालयको नेपालगञ्जका मेयर प्रशान्त विष्टले एक कार्यक्रमका बीच आज उद्घाटन गर्नुभयो । त्यस अवसरमा मेयर विष्टले बैकुण्ठधाम योजनाको डिपीआर निर्माणको सबै खर्च नेपालगञ्ज उपमहानगरपालिकाले व्यवहोर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा मेयर विष्टले आप्नोतर्पवाट रु ५१ हजार सहयोगको घोषणासमेत गर्नुभयो ।
विभिन्न क्षेत्रका सामाजिक अभियन्ता, स्थानीय जनप्रतिनिधि, चिकित्सक, कानून व्यवसायी, मानवअधिकारकर्मी, धार्मिक गुरुलगायतको सहभागिमा रहेको सचिवालय उद्घाटन समारोहमा मूल समारोह समितिका सदस्यद्धय भोला महत र श्रीराम सिग्देलले बैकुण्ठधाम निर्माणको आवश्यकता र महत्वका विषयमा प्रकाश पार्नुभएको थियो ।