नेपालगञ्ज, २० असार । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ शिंखनपुरुवाबाट फरार प्रतिवादी पक्राउ गर्ने क्रममा प्रहरीद्धारा तीन राउण्ड फायर गरिएको छ ।
२०७० असार १८ गतेको जिल्ला अदालत बाँकेको फैसलामा डाँका चोरी मुद्दामा दोषी ठहर भई ६ वर्ष कैद र १२ हजार रुपैयाँ जरिवाना सजाय पाएका फरार प्रतिवादी सरमान सिंह सरदारलाई पक्राउ गर्ने क्रममा स्थानीय केहि व्यक्तिले अवरोध सिर्जना गरेपछि प्रहरीले तीन राउण्ड फायर गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डांगीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको टोलीले फरार प्रतिवादी सिंहलाई पक्राउ गर्ने क्रममा स्थानीयले अवरोध गर्दै प्रहरीमाथि ढुङ्गामुडासहित आक्रमण र हतियार खोस्ने प्रयास गरेपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउन्ड गोली चलाएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
प्रहरीले चलाएको गोली लागेर स्थानीय ३० वर्षीय नानक सिंह सरदार एक युवक घाइते भएको प्रहरी प्रवक्ता डांगीले जानकारी दिनुभयो । सरदारको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिने क्रममा इलाका प्रहरी कार्यालय हिरमिनियाका एक वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जनाइएको छ ।
गोली लागेर घाइते नानक, फरार प्रतिवादी सरदार र घाइते प्रहरी तीनै जनाको भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।